वर्षौंपछि फर्कियो ललितपुर कांग्रेसको खुसी, नेता कार्यकर्ताहरू हर्षित

ललितपुर । नेपाली कांग्रेस ललितपुरले लामो समयपछि आफू बस्दै आएको घर र जग्गा लालपुर्जा पाएको छ ।

नखिपोटस्थित पार्टी कार्यालय रहेको जग्गा पूर्वमन्त्री ओमकार श्रेष्ठको नाममा थियो । कांग्रेसभित्र ठूलो अन्तर्घात गर्दै आएका श्रेष्ठले पार्टी कार्यालयका नाममा लामो समयदेखि राजनीति गर्दै आएका थिए ।

ललितपुरका नेता तथा कार्यकर्ता र केन्द्रीय नेताहरू दवावपछि ओमकार श्रेष्ठले शुक्रबार विधिवत रुपमा मालपोत कार्यालयबाट कांग्रेसलाई जग्गा दिएका छन् ।

नेपाली कांग्रेसले शुरू गरेको राष्ट्रिय जागरण अभियानका क्रममा ओमकार श्रेष्ठले आफ्नो नाममा रहेका पार्टी कार्यालय ललितपुर कांग्रेसलाई फिर्ता गरेका हुन् ।

नेपाल कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले पार्टी कार्यालयले चर्चेको जग्गा नेपाली कांग्रेस पार्टीको नाममा आउँदा आफू अत्यन्तै खुसी भएको जनाएका छन् ।

‘आज म, धेरै खुसी छु । नखिपोटस्थित नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यालय तथा त्यसले चर्चेको जग्गा आजबाट विधिवत रुपमा पार्टीको नाममा आएको छ’, उनले भनेका छन्, ‘पार्टीको नाममा जग्गा ल्याउन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यावाद दिन चाहन्छु ।’

‘जग्गासम्बन्धी विवादका कारण लामो समयदेखि पार्टी संगठनमा पनि ठूलो असर गरेको थियो’, सभापति अमात्यले भनेका छन्, ‘पार्टीको नाममा जग्गा ल्याउन पहल गर्नु हुने सबैलाई फेरि एक पटक बधाई तथा धन्यवाद दिन चाहन्छु ।’

जग्गा फिर्ता गराउन नेपाली कांग्रेस ललितपुर र पूर्वमन्त्री ओमकार श्रेष्ठबीच अदालतमा मुद्धा समेत चलेको थियो । ओमकार श्रेष्ठले कांग्रेसको जग्गा फिर्ता गर्न नमानेपछि बेलाबेला झडप समेत हुने गरेको थियो ।

Published : Saturday, 2019 June 15, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया