सुदूरपश्चिम सरकार बचाउन ओली अनिइच्छुक
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले दीर्घ सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बचाउन रुचि देखाएका छैनन् ।
सोडारीले विश्वासको मत लिएर सरकारलाई विस्तार गर्न चाहेका छन् । तर, ओलीले व्यक्तिगत इगोका कारण सोडारीलाई बचाउन चाहेका छैनन् । नेकपा (एकीकृत समाजवादी)लाई कतै पनि सरकारको नेतृत्व नदिने पक्षमा ओली छन् । बरु प्रदेश वा केन्द्र सरकार ढले पनि नेकपा (एकीकृत समाजवादी)लाई नेतृत्व दिन ओली चाहँदैनन् ।
नेकपा (एकीकृत समाजवादी)का मुख्यमन्त्री सोडारीप्रति ओली निकै आक्रामक छन् । ओलीका गतिविधिहरू नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध छन् ।
सोडारीले शनिबार विश्वासको मत लिन खोजेका थिए । यद्यपि, एमालेको संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पाल बैठक छाडेर काठमाडौं हिँडेका थिए । एमालेले विश्वासको मत तत्काल नदिने भएपछि मुख्यमन्त्री सोडारीले प्रदेश सभाको बैठक सूचना टाँस गरी रोक्न लगाएका थिए ।
एमालेका अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन नहतारिन मुख्यमन्त्री सोडारीलाई सन्देश पठाएका छन् ।
एमालेका कारण सुदूरपश्चिम प्रदेशको सरकार संकटमा छ । एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गरेपनि सहभागी नहुने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया