कम्युनिस्ट मुख्यमन्त्रीले निवासमै फेरि भ्याए सवा दुई करोड

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सवा दुई करोड खर्च गरेर बनाइएको सरकारी भवनमा सरेका छन् ।

शुक्रबार पूजाअर्चना गरेर मुख्यमन्त्री गुरुङ निवास सरेका हुन् । यसअघि उनी पोखरा महानगरपालिका र नेपाल राष्ट्र बैंकको गेस्ट हाउसमा बसेका थिए ।

०७४ फागुनदेखि गुरुङ पार्दीस्थित महानगरको गेस्ट हाउसमा बसेका थिए । मुख्यमन्त्री बसेको गेस्ट हाउसले फेवाताल अतिक्रमण गरेर बनाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले प्रमुख जिल्ला अधिकारीको आवास प्रयोजनका निम्ति बनाएको निवासमा मुख्यमन्त्री गुरुङ सरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भने मुख्यमन्त्री कार्यालय भन्दा केही तल जिल्ला कारागार कार्यालय कास्कीको अगाडि रहेको सरकारी क्वार्टरमा बस्दै आएका छन् ।

मुख्यमन्त्री गुरुङ नयाँ निवासमा सर्दा प्रदेशका अन्य मन्त्री तथा प्रदेशसभा सदस्यहरू र मुख्यमन्त्रीका आफन्त पनि उपस्थित थिए ।

प्रजिअको आवास प्रयोजनार्थ यो भवन निर्माणको सम्झौता भने ०७३ साल माघ २७ गते नै भएको थियो ।

०७४ पुस २५ गतेसम्म सम्पन्न गर्नेगरी निर्माण जिम्मा लिएको सिएम गौचन पर्फेक्ट जेभीले तोकिएको समयभन्दा १ वर्ष ५ महिना ढिलोगरी निर्माणकार्य सम्पन्न गरेको हो ।

तीन तले भवनलाई कम्पनीले भ्याटबाहेक २ करोड १५ लाख ४० हजार सात सय ४१ रुपियाँमा सम्झौता गरेको र हालसम्म २ करोड नौ लाख ४२ हजार चार सय ८४ रुपियाँ भुक्तानी लगिसकेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

यसअघि गुरुङ बसेको महानगरपालिकाको गेस्टहाउस ६० लाख रुपियाँ खर्चेर जीर्णोद्वार गरिएको थियो । भवन मर्मत गर्न सरकारले २५ लाख उपलब्ध गराएको थियो ।

बाँकी रकम तत्कालका लागि महानगरपालिकाले नै निकासा गरेको थियो ।

एमाले पृष्ठभूमि भएका मुख्यमन्त्री गुरुङको निवासलाई पटक पटक गरेर करोडौँ रुपियाँ खर्च भइसकेको छ । मुख्यमन्त्री गुरुङ सरकार पैसा सिध्याउनेमा अग्रपंक्तिमा रहेको भनेर आलोचना हुँदै आएको छ ।

Published : Friday, 2019 June 14, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया