विद्या भण्डारी एमालेको राजनीतिमा औपचारिक रुपमा प्रवेश, ओलीको सिण्डिकेट भत्किने
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्र एकलौटी हालिमुहाली गरिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई औपचारिक रुपमा पार्टीको राजनीतिमा सक्रिय बनाउन लागेकी छिन् ।
पूर्वराष्ट्रपतिले पाउने सुविधा नलिएकी भण्डारीले पार्टीका नेता कार्यकर्तालाई भेटघाट गर्दै आएकी छिन् । उनले अब एमालेको राजनीतिलाई औपचारिक रुपमा अगाडि बढाउन लागेकी छिन् ।
राष्ट्रपतिबाट अवकाशपछि भण्डारी पहिलोपटक एमालेको कार्यक्रममा प्रमुख अतिथि बनेर सहभागी हुन लागेकी छिन् ।
एमालेको जनसंगठन समन्वय संयन्त्रले आगामी १६ र १७ जेठ भेलाको आयोजना गर्न लागेको छ । भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख आतिथिका रुपमा सहभागी हुनेछिन् । भेलामा देशभरिबाट पार्टीसम्बद्ध कम्तीमा पाँच हजार महिला सहभागी हुनेछन् ।
२९ फागुन ०७९ मा राष्ट्रपतिको दोस्रो कार्यकाल पूरा गरेर अवकाश पाएपछि भण्डारी पहिलोपटक पार्टी कार्यक्रमको प्रमुख अतिथि बन्न लागेकी छिन् । भण्डारीले एमालेको औपचारिक राजनीति गर्न लागेपछि पार्टीभित्र एकलौटी हाबी हुँदै आएका अध्यक्ष ओलीको सिण्डिकेट समाप्त हुने अनुमान नेता कार्यकर्ताको छ ।
जनसंगठन संयन्त्रले अध्यक्ष ओलीलाई प्रमुख वक्ता बनाएको छ । पार्टी कार्यालय, च्यासलमा राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पूर्वराष्ट्रपति भण्डारी उपस्थित हुने बताएका छन् ।
राष्ट्रपति पदमा रहेका बेला भण्डारीले शीतलनिवासबाट एमालेको पार्टी कार्यालय चलाएको भनेर आरोप लागेको थियो । ओलीको खटनपटन र निर्देशनमा भण्डारीले दुई पटक संसद विघटन गरेकी थिइन् । ओली र भण्डारीले संसद बिघटन गरे पनि सर्वोच्च अदालतले दुबै पटक उल्ट्याइदिएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया