ओली र लामिछानेमाथि प्रचण्डकाे आशंका, ढिला नगरी सरकार बचाउने रणनीति
काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएपछि सरकारको आयु ढलमल भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागेका छन् ।
सिंहदरबारमा प्रधानमन्त्री पदको कुर्सी सुरक्षित बनाउन दाहालले विश्वासको मत लिन लागेका हुन् । एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री लामिछानेप्रति दाहाललाई विश्वास छैन । ओली र लामिछानेप्रति आशंका रहेका कारण दाहालले जेठ ७ गते सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका छन् ।
माओवादीका नेताहरूका अनुसार अहिलेको गठबन्धन सरकार निकै कमजोर रहेको प्रधानमन्त्री दाहालले बताउने गरेका छन् । दाहालले कांग्रेससँग विश्वासघात गरेर नयाँ गठबन्धन बनाउनु गम्भीर गल्ती भएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विभाजनसम्बन्धी अदालतमा विचाराधीन मुद्दाको आदेश हुनुभन्दा अगाडि नै विश्वासको मत लिएर सुरक्षित हुन खोजेका छन् ।
दाहालले नेकपा (एकीकृत समाजवादी), अशोक राईको जसपा, रास्वपा लगायतलाई साथमा लिएर विश्वासको मत लिन लागेका हुन् ।
गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्नुभन्दा अगाडि नै विश्वासको मत लिन लागेका छन् । जेठ ७ गतेपछि विश्वासको मत लिए पनि हुने थियो । लामिछानेलाई डर, धम्की र त्रासमा राखेर दाहालले विश्वासको मत लिन लागेको चर्चा छ ।
हाल सरकारको पक्षमा एमाले ७८, माओवादी ३२, रास्वपा २१, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी ७ र नागरिक उन्मुक्ति पार्टी ५ गरी १५३ सांसद छन् । सरकारलाई १८ संख्या रहेमा बहुमतपुग्छ ।
नीति तथा कार्यक्रम र बजेटको मुखमा लगातार संसद् अवरुद्ध भएपछि सरकार दबाबमा परेको छ ।
एमालेका अध्यक्ष केपी ओली र रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले सत्ता समीकरणलाई असर गर्ने गरी छानबिन समिति बनाउन नमानेपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच द्वन्द्व बढेको थियो । दाहालले लामिछानेलाई साइजमा राखेर समिति बनाउन कांग्रेससँग सहमति गरेका छन् ।
प्रधानमन्त्री दाहालले शनिबार आफ्नो सरकारले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताइसकेका छन् ।
दाहालले जेठ ७ गते आफूले चौथो पटक विश्वासको मत लिन लागेको बताए । आगामी दिनमा पनि विश्वासको मत लिन सक्ने उनले आशंका गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) सरकारबाट बाहिरिन सक्नेतर्फ संकेत गर्दै दाहालले फेरि पनि विश्वासको मत लिन तयार भएको बताए ।
दाहालले विश्वासको मत लिएपछि जेठ १ मा संसदमा प्रस्तुत हुने सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बाटो खुल्नेछ ।
सरकारको नीति तथा कार्यक्रम पारित भएपछि संसद्मा जेठ १५ गते आगामी वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्नुपर्छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया