दाङ, काठमाडौं र बाग्लुङमा सडक दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । दाङ, काठमाडौं र बाग्लुङ लगायतका जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २१ जनाको मृत्यु भएको छ ।

दाङको देउखुरीस्थित राप्ती गाउँपालिका–१ पुल्चोकमा राप्ती नदीको पक्की पुलमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे.१ ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा बसमा सवार बाँके नेपालगञ्ज वतन भएका ६० वर्षीया कुसुम बस्नेत समेत १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसमा सवार २४ जनामध्ये ११ जनाको मेडिकल कलेज कोहलपुरमा, ८ जनाको चौराहा अस्पताल बुटवलमा, १ जनाको राप्ती पोलिक्लिनिक भालुवाङमा र १ जनाको सिटी अस्पताल बुटवलमा गरी २१ जनाको उपचार भइरहेको छ ।

घाइते भएका ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, काठमाडौंको चन्द्रागिरीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं–३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं–२ लाजिम्पाटका ३८ वर्षीय डा. महेशकुमार गौतम र उनका ४ वर्षीय छोरा ४ प्रियान्स गौतम रहेका छन् ।

गौतम तिवारी परिवारका ज्वाइँ रहेको प्रहरीले जानकारी दिएको छ ।

जीपमा सवार एक जना सकुसल रहेको र एक जना गम्भीर घाइते रहेको थानकोट प्रहरी वृत्तका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार डा. गौतमकी श्रीमती सृष्टि तिवारी सकुसल छन् भने उनको ६ वर्षीया छोरी स्मारिका गौतम गम्भीर घाइते छन् । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्र–३–०१–२३ च ६९८५ नम्बरको उक्त जिप शनिबार दिउँसो २ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका–४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा जित सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

उता, बाग्लुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध.१ ज १९ नम्बरको जीप शनिबार बिहान दुर्घटना भएको छ ।

दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका–४ खुङगा बस्ने २७ वर्षीय तिलक घर्ती मगर र जीपमा सवार काठमाडौं चन्द्रागिरी नगरपालिका–१० सतुङगल बस्ने २८ वर्षीया संगीता अधिकारी गैरेको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जीपमा सवार ९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बाग्लुङमा उपचार भइरहेको छ ।

यता, काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफस्थित सोल्टी दोबाटो नजिक बा.९१ प १५९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक काठमाडौंको कोटेश्वर बस्ने ४५ वर्षीय रबिनकुमार श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको झापा गाउँपालिका–५ स्थित सडकमा बा.४६ प २१०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय गुनाल राजवंशीको शुक्रबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखाको जिरी नगरपालिका–४ सिउरेनीमा लु.३ त ६८८२ नम्बरको ट्याकटर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–४ मोक्पा बस्ने २४ वर्षीय दावा शेर्पाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Published : Saturday, 2024 January 13, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया