केन्द्र सरकारका कारण संघीयता कार्यान्वयनमा ढिलाई : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लिबहादुर चौधरीले केन्द्र सरकारको कारण संघीयता कार्यान्वयनमा ढिलाई भएको गुनासो गरेका छन् ।

शुक्रबार बुटवलको ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले बुटवल उप–महानगरपालिकालाई हस्तान्तरण गर्न आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री चौधरीले संविधान अनुसार संघीयता पूर्ण कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

उनले भने, ‘केन्द्र सरकारले संघीय कानून नबनाउने, प्रदेशको अधिकार दिनै नखोज्ने प्रवृत्तिले संघीयताप्रति वितृष्णा पैदा भएको छ ।’

मुख्यमन्त्री चौधरीले भने, ‘संविधानको संरक्षकको काम संविधान कार्यान्वयन गराउने पनि भएकाले राष्ट्रपति ज्यूको ध्यान जाओस् ।’

चौधरीले जितगढी किल्लाको संरक्षणका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताएका छन् ।

किल्ला हस्तान्तरणपश्चात नगर प्रमुख खेलराज पाण्डेयले जितगढीलाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने उनले बताएका छन् ।

गढी बुटवलको तिनाउ नदीको बायाँ किनारमा रहेको छ । जितगढीमा विक्रम संवत् १८७२ वैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो ।

सोही दिनलाई बुटवल उप–महानगरपालिकाले हरेक वर्ष विजय उत्सवका रुपमा मनाउँदै आएको छ ।

Published : Friday, 2024 January 5, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया