एमालेका नेता तथा युवा संघका उप–महासचिव कारागार चलान
पोखरा । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)लाई अदालतले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले गुरुङसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले गुरुङसहित सूर्यदर्शन सहकारीका सञ्चालक भविश्वर अर्याललाई थुनामा पठाउन आदेश भएको बताए । उनीहरूविरुद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार रहेका दुवै जना मंगलबार अदालतमा हाजिर भएका थिए ।
गुरुङ स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट कास्कीको मादी गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका थिए । कास्की मादी गाउँपालिका वडा नम्बर १० स्थायी घर भएका ३९ वर्षीय गुरुङ हाल पोखरा महानगरपालिकाको वडा नं. १२ मा बस्दै आएका थिए ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिवसमेत रहेका गुरुङ सूर्यदर्शन सहकारी सञ्चालक समितिका पूर्व सदस्य हुन् । उनले सहकारीको नौ करोडभन्दा बढी हिनामिना गरेको पोखरा महानगरले गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १० घर भएका सञ्चालक समिति सदस्य अर्याल सूर्यदर्शनकै आइटी प्रमुख हुन् ।
यसअघि सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । उनीहरू पुर्पक्षका लागि जिल्ला कारागार चलान भइसकेका छन् । उक्त सहकारीका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा अझै १५ जना फरार छन् ।
सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जीवी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढा मगरविरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्ने प्रक्रियाअघि बढाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया