भारती विदेशमन्त्री जयशंकर काठमाडौं आउने, मन्त्री साउदद्वारा प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं । नेपाल भारत परराष्ट्रमन्त्रिस्तरीय संयुक्त आयाेगकाे सातौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउन लागेका छन् ।

जयशंकर भारतीय वायु सेनाको विशेष विमानबाट काठमाडौं आउनेछन् । उनी दुई दिन नेपाल बस्नेछन् ।

भारतले नेपाललाई दिँदै आएको साना सहयोग परियोजना अन्तर्गतको सहयोग पाँच करोड रुपियाँबाट बढाएर २० करोड रुपियाँ पुर्‍याउने सम्झौतामा पनि हस्ताक्षर हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।


नेपालले आफ्ना तर्फबाट अन्तर्राष्ट्रिय हवाई मार्गको अनुमति दिन भारत पक्षसँग प्रस्ताव राख्ने तयारी गरेको छ । नेपालले लामो समयदेखि महेन्द्रनगर, नेपालगञ्ज र भैरहवाबाट हवाई मार्गको माग गरिरहेको छ ।

परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आयोगको बैठकका एजेण्डाबारे छलफल गरेका छन् ।

बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकरसँगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीलगायत विदेश मन्त्रालयक अधिकारीहरू आउनेछन् ।

भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

Published : Tuesday, 2024 January 2, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया