बारामा झडप हुँदा घाइते मुखियाको मृत्यु, १४ प्रहरी घाइते

वीरगञ्ज । बारा जिल्लामा ढुंगामुढा हुँदा घाइते भएका २५ वर्षीय लक्ष्मी मुखियाको उपचारको क्रममा मृत्यु भएको छ ।

बुधबार सिम्रौनगढ नगरपालिका–६ स्थित सिम्रौनगढ नगरपालिकाको कार्यालयमा बुधबार ढुंगामुढा भएको थियो ।

ढुंगा लागेर घाइते भएका सोही नगरपालिका–१ रामसागराघाट बस्ने मुखियाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाका करारका कर्मचारीहरू समेतका केही व्यक्तिहरूले ढुङ्गामुढा गर्दा नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने बा.२ झ ४३५४ नम्बरको गाडीको सिसा र नगरपालिका कार्यालयको झ्यालका सिसाहरू फुटाएको थियो ।

नगरपालिकाको कार्यालयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ लगायतका युनिटहरूबाट प्रहरी टोली खटी गएको थियो ।

उनीहरूलाई सम्झाई बुझाई गर्ने क्रममा आक्रोसित भिडले एक्कासि ढुङ्गामुढा गर्दा प्रहरी निरीक्षकसहित १४ जना घाइते भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीको तर्फबाट स्थितिलाई नियन्त्रणमा लिनका लागि हवाई फायर समेत भएको थियो । हवाई फायरका क्रममा घाइते भएका मुखियाको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घाइते प्रहरी कर्मचारीहरू कलैया अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

Published : Friday, 2023 December 15, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया