सात जना सचिवहरूको सरुवा, पर्यटन मन्त्रालयका सचिव सार्वजनिक कार्यालय पुगे

काठमाडौं । सरकारले ७ जना सचिवहरूको सरुवा गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव रामआधार साहको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ । केन्द्रमा रहेका सुरेश आचार्य खानेपानी मन्त्रालय सरुवा भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका जलस्रोत तथा सिंचाइ सचिव गोपालप्रसाद सिग्देललाई मन्त्रालयकै ऊर्जा सचिवमा सरुवा गरिएको छ ।

सरिता दवाडीको जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएको छ । आयोगका सुशीलचन्द्र तिवारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सिंचाइ सचिवमा सरुवा भएका छन् ।

कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् ।

सचिव बढुवा भएका नारायणप्रसाद शर्मा यसअघि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर वाणिज्य तथा आपूर्ति सचिव भएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रामकृष्ण सुवेदीले पनि यसअघि मधेश र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थको पनि सरुवा भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काफ्लेको सरुवा भएसँगै उक्त मन्त्रालयमा सरुवा भएको छ ।

सचिव भरतमणि सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव पद रिक्त थियो ।

Published : Thursday, 2023 December 14, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया