विश्व शान्तिका लागि लुम्बिनीमा प्राणीधान पूजा, धर्मगुरुहरूको विशेष उपस्थिति

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणीधान (मोन्लम पूजा ) विहिबारदेखि शुरु भएको छ ।

महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीन दिने मोन्लम पूजा शुरु गरेको हो । संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि वार्षिक रुपमा यस्तो पूजा गर्ने गरिएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)को उपस्थितिमा खेन्छेम पेमा शेर्पा (रिपोन्छे)ले मोन्लम पूजा गराएका हुन् ।

उपाध्यक्ष डा.लामाले लुम्बिनीमा आनीहरूको मोन्लम पूजाबाट यो वर्ष पूजाको शुरुवात भएको बताउँदै आगामि दिनमा यस्ता पूजाहरू बढ्दै जाने बताएका छन् ।

डा.लामाले आफू कोषको उपाध्यक्ष हुँदा नै लुम्बिनीमा लामा, गुरुहरूको उपस्थितिमा विभिन्न खालका पूजा गराउने प्रतिबद्धता जनाएको बताएका छन् ।

उपाध्यक्ष डा.लामाले अब बेलाबेलामा ठूला–ठूला मोन्लुम पूजाहरू हुने बताएका छन् । भगवान बुद्धका उपदेशका पाठहरू गर्दै बोद्धिसत्व गरेकाहरूको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्व रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

शाक्यले लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरूलाई नीतिगत रुपमा प्रोत्साहन गर्ने नीति लिएको बताए । शाक्यले यो वर्षका लागि पूजा शुरु भएको बताउँदै नोभेम्र र डिसेम्बरमा पनि यस्तै पूजा लुम्बिनीमा हुने बताए ।

लुम्बिनीमा धार्मिक पर्यटकहरूलाई आकर्षित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलने शाक्यले बताएका छन् । नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले प्रत्येक वर्ष लुम्बिनीस्थित मायादेवी मन्दिरमा मोन्लम पूजा गर्दै आएको छ ।

बुद्धजन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै विगत ६ वर्षदेखि मोन्लम पूजा गर्दै आएको संघका संस्थापक अध्यक्ष खेमो डोल्पा छिरिङ लामाले बताइन् ।

पूजाको शुरुवातका दिन कोषका उपाध्यक्ष डा. लामासहित, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य राजेश शाक्य, सूचना तथा जनसम्पर्क प्रमुख डा.हरिध्वज राई लगायतको उपस्थिति रहेको थियो । पूजा शनिबारसम्म चल्नेछ ।

Published : Thursday, 2023 November 2, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया