सहमति, सहकार्य र समन्वय गरेर अगाडि बढौं : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै लेखकले भने, ‘संसद् प्रभावकारी भयो भने सरकार पनि प्रभावकारी हुन्छ । संसद् बलियो हुनुपर्छ ।’

‘मूल विषय भनेको संसदलाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्छ’, उनले भने ।

संसदको मूल काम कानून निर्माणका साथै सरकार निर्माण, राज्यका स्रोत र साधनको वितरण, सरकारका काम कारबाहीको नियमित अनुगमन र मूल्याङ्कन गर्ने रहेको उनले बताएका छन् ।

‘संसदमार्फत सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, संसदले बनाएका कानुनको कार्यान्वयनका अवस्थाबारे अध्ययन गर्ने अभ्यास पनि विश्वव्यापी रूपमा रहको छ’, उनले भने ।

कांग्रेसका प्रमुख सचेतक लेखकले संविधानले परिकल्पना गरेको बाटोमा कांग्रेस सधैँ प्रभावकारी संसदको पक्षमा रहेको बताएका छन् ।

‘संसदका काम कारबाही जीवन्त रूपमा काम गर्नुपर्छ । संसद्लाई प्रभावकारी बनाउनका लागि संविधानको रक्षा गर्न प्रतिबद्ध छौँ’, उनले भने ।

‘लोकतन्त्रमा सहमति, सहकार्य र समन्वय गरेर अघि बढ्नु जरुरी छ’, लेखकले भने, ‘त्यसो भए मात्र संसद् प्रभावकारी हुन्छ ।’

उनले संवाद, सहमति, सहकार्य संविधानको कार्यान्वयन र मुलुकको निर्माणका लागि जरुरी रहेको बताएका छन् ।

उनले ७० वर्षको अन्तरालमा सातवटा संविधान बनाउने काम गरिएको र अब यो संविधान असफल बनाउने छुट कसैलाई नरहेको बताएका छन् ।

संविधान मुलुकमा ठूलो राजनीतिक अभियान, राजनीतिक यात्राबाट प्राप्त भएको उनले बताएका छन् ।

कांग्रेसका प्रमुख सचेतक लेखकले इजरायलमा अध्ययन गर्न गएका १० जना नेपाली विद्यार्थीले हमासको आक्रमणबाट अकालमा ज्यान गुमाउनुपरेको र धेरै घाइते भएको जनाउँदै घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

उनले हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई सहजतापूर्वक सकुशल घर फिर्ता गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताएका छन् ।

Published : Thursday, 2023 November 2, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया