काभ्रेमा गाडीको ब्रेक फेल, दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोक र दोलखा जिल्लामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

पनौती नगरपालिका–२ सिलाभन्ज्याङस्थित सडकमा बा.४ ख ६७२३ नम्बरको गाडीको ब्रेक फेल भई सडकबाट करिब ६ सय मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा चालक सोही नगरपालिका–कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र गाडीमा सवार बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवबिक्रम केसी रहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता, दोलखाको भीमेश्वर नगरपालिका–७ चरङ्गेस्थित सडकमा बा.प्र०२–०४४ प ६८८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक गौरिशंकर गाउँपालिका–५ सुरी बस्ने ४० वर्षीय राम कुमार खड्काको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चरिकोट दोलखामा उपचारको क्रममा मृत्यु भएको छ ।

Published : Wednesday, 2023 November 1, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया