देउखुरीमा एमालेसँग मिलेर कांग्रेसले अध्यक्षमा खड्कालाई विजयी बनायो

काठमाडौं । दाङको देउखुरी बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेसका लालवीर खड्का निर्वाचत भएका छन् ।

शनिबार निर्वाचन समितिका संयोजक लीलाराम खनालद्वारा जारी भएको सूचनाअनुसार खड्काले १३७ मतसहित अध्यक्षमा जित हातपारेका हुन् । कांग्रेसका खड्कालाई नेकपा (एमाले)को समर्थन रहेको थियो । देउखुरी बहुमुखी क्याम्पसको सञ्चालक समितिको मतदाताहरूमा कांग्रेसको बहुमत छ ।

अध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले बाबुराम चौधरीलाई उम्मेदवार बनाएको थियो । चौधरीले ५८ मत मात्रै पाएका थिए ।

सदस्यहरूमा पनि कांग्रेस र एमालेका उम्मेदवारहरू विजयी भएका छन् । क्याम्पस व्यवस्थापन समितिको निर्वाचनमा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए । मतदाताहरू धेरै कांग्रेसका छन् । पराजित हुने सम्भावना भएपछि कांग्रेसको स्थानीय नेतृत्वले माओवादीसँग गठबन्धन नगरेर एमालेसँग गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो ।

केन्द्रको गठबन्धनअनुसार कांग्रेस र माओवादी मिलेर निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने थियो । कांग्रेसले एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको आलोचना पनि भएको थियो ।

सदस्यहरूमा प्रकाशकुमार जिसी, पदमप्रसाद शर्मा, हल्लुप्रसाद चौधरी, कृष्णप्रसाद घिमिरे, विद्याशरण चौधरी, गुलाम महम्मद जागा मुसलमान, प्रेम कालाथोकी, पवन शर्मा रिजाल, धुपनारायण चौधरी, गोपाल ज्ञवाली र सुलोचना गिरी निर्वाचित भएका छन् ।

Published : Sunday, 2023 October 29, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया