अनलाइनका मालिकहरूको संस्थाभित्र विवाद, बस्नेतद्वारा समितिमा बस्न अस्वीकार
काठमाडौं । नेपालखबर डटकमका प्रधान सम्पादक पूर्ण बस्नेतले कथित मूलधारका डिजिटल मिडियाको नाममा बनाइएको ‘डिजिटल मिडिया सोसाइटी’मा नरहेको जनाएका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमार्फत बस्नेतले सोसाइटीको कार्यसमितिमा आफू नरहने बताएका छन् ।
उनले भने, ‘स्थापना गर्ने प्रयासमा लागेको तीन वर्ष भयो । कोभिडको समयदेखि नै यो प्रयास अन्तर्गत धेरै छलफल गरियो । तर, प्रमुख अनलाइनहरू एउटै संस्थामा रहने प्रयास सार्थक बनिसकेको छैन ।’
‘मुलत: यही मान्यता र प्रयासमा रहिरहेको अवस्थामा आज स्थापना भएको घोषणा गरिएको डिजिटल मिडिया सोसाइटीको कार्यसमितिमा म रहन सकिनँ’, बस्नेतले भने, ‘समितिमा रहेका सबैलाई बधाई । प्रमुख डिजिटल मिडियालाई एउटै संस्थामा जोड्ने प्रयास जारी नै रहने छ ।’
आफूलाई मूलधारका अनलाइन सञ्चार माध्यमहरू दाबी गर्ने केही अनलाइनका मालिकहरूले सोसाइटी बनाएका छन् ।
सोसाइटी गठन भएको केही क्षणमै विवाद भएको छ । सोसाइटीलाई प्रा.लि.का रुपमा बनाइएको छ ।
सोसाइटीको अध्यक्षमा बाह्रखरी मिडिया प्रालि (बाह्रखरी डट्कम)का अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधान रहेका छन् ।
उपाध्यक्षमा सेतोपाटी सञ्चार प्रालि (सेतोपाटी डट्कम)का अध्यक्ष तथा प्रधान सम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर सञ्चार प्रालि (लोकान्तर डट्कम)का अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा चाणक्य मिडिया प्रालि (क्लिकमाण्डू) डट्कमका अध्यक्ष पुष्प दुलाल रहेको विज्ञप्तिमा उल्लेख छ ।
सोसाइटीको कार्यसमिति सदस्यहरूमा विकास मिडिया प्रालि (विकास न्यूज डटकम)का अध्यक्ष तथा प्रधान सम्पादक रामकृष्ण पौडेल, बिजनेस नेपाल प्रालि (क्यापिटल नेपाल डट्कम)की सञ्चालक अनिता राजभण्डारी, देशसञ्चार प्रालि (देश सञ्चार डट्कम)का अध्यक्ष रविन दाहाल, इन्टर एन्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि (हाम्रा कुरा डट्कम)का कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, नेपाल लाइभ पब्लिकेसन प्रालि (नेपाल लाइभ डट्कम)का अध्यक्ष अनिल न्यौपाने, डिस्कभरी न्यूज नेटवर्क प्रालि (रातोपाटी डट्कम)का सञ्चालक अर्जुन पन्त तथा शिलापत्र मिडिया नेटवर्क प्रालि (शिलापत्र डट्कम)का सञ्चालक सुरेश सिम्खडा रहेका छन् ।
कम्तीमा सञ्चालनको ५ वर्ष पूरा गरेका र न्यूनतम् १५ जना पत्रकारलाई रोजगारी दिइरहेका अनलाइन सञ्चार माध्यमहरू सोसाइटीमा आबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल मिडिया प्रालि (हिमाल खबर डट्कम)का अध्यक्ष कुन्द दीक्षित तथा डिस्कभरी न्यूज नेटवर्क प्रालि (रातोपाटी डट्कम)का संस्थापक ओम शर्मालाई सल्लाहकारमा चयन गरेको समेत संस्थाले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया