विमानस्थलमा देखिएनन् प्रदीप, मन्त्री किराँतीलाई टेरपुच्छर लगाएनन्

काठमाडौं । नेपाल वायुसेवा निगमले इजरायलबाट नेपाली विद्यार्थीलाई उद्धार गरेर ल्याउँदा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अनुपस्थित भएका छन् ।

शुक्रबार बिहान निगमको जहाजले नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेको थियो । नेपालीहरूको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल गएका थिए ।

राष्ट्रिय ध्वजावाहक जहाजले नेपाली विधार्थीलाई लिएर आउँदाको स्वागत कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती विमानस्थलमा आफै उभिएर स्वागत गरेका थिए ।

तर, प्राधिकरणका महानिर्देशक अधिकारी घरमै घुरेर सुतेका रहेका छन् । विमानस्थलमा अधिकारीलाई कसैले पनि देखेन ।

मन्त्री उपस्थित भएको कार्यक्रममा महानिर्देशक अधिकारी पनि सहभागी हुनुपर्ने थियो । महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई हेरेर राखेका छन् । सोही कारण अधिकारी विमानस्थलमा गएनन् ।

नेपाल एयरलाईन्सको जहाजले राम्रो काम गरेको महानिर्देशक अधिकारीलाई मन पर्दैन् । निगममाथि अधिकारीले निरन्तर कारबाहीको डण्डा चलाउँदै आएका छन् । महानिर्देशक अधिकारी र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीबीच ठूलो द्वन्द्व छ ।

नेपाली विद्यार्थीलाई उद्धार गरेर हिमालयन एयरले ल्याएको भए महानिर्देशक अधिकारी हतार हतार जाने थिए । तर, निगमले गरेको राम्रो कामबाट महानिर्देशक अधिकारीको पेट पोल्छ ।

हुन त महानिर्देशक अधिकारी विमानस्थलमा गएको भए कर्मचारीहरूलाई अपशब्दमा गालीगलौज गरेर अपमान गर्ने सम्भावना रहन्थ्यो । महानिर्देशक अधिकारी नआएपछि कर्मचारीहरू निकै उत्साहित मुद्रामा उद्धार गरेर ल्याइएका विद्यार्थीको स्वागत गर्दै सहजीकरण गरेका थिए ।

महानिर्देशक अधिकारीलाई विमानस्थलमा नदेखेपछि कर्मचारीहरू निकै खुसी देखिएको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

Published : Friday, 2023 October 13, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया