अष्ट्रेलियाको मेलबर्नमा दशैंको सप्ताह, दीबनबन्धु पोखरेल आउने
मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूको लागि यस पटकको दशैं खास हुँदैछ ।
खास यसकारण कि यस पटक नवरात्रिको ९ दिनसम्म नवाह यज्ञ गरिँदैछ । टीकाको दिन सामूहिक टीका लगाउने र शुभकामना साटासाट गर्ने तयारी छ ।
भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ (घटस्थापनादेखि विजया दशमीसम्म)सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञमा प्रमुख वाचकको रुपमा पण्डित् दीनबन्धु पोख्रेल अतिथि रहनेछन् ।
पोखरेललाई बालब्यास श्रावण गुरुले साथ दिनेछन् । मेलबर्नमा निर्माणाधीन बहुसांस्कृतिक केन्द्रको सहयोगका लागि ज्ञान महायज्ञको आयोजना गरिएको हो ।
नवाह ज्ञान महायज्ञको पहिलो दिन अर्थात अक्टोबर १५ तारिख दिउँसो ३ बजे कलश यात्रा गरेर महायज्ञको सुरुवात गर्ने संयोजक आनन्द पौडेलले बताए । कलश यात्रा सकिएपछि नवाहको कथा बाचन शुरु गरिनेछ ।
हरेकदिन नियमित पूजाआजा, दैनिक वेदपाठ, सप्तसती चण्डी पाठ र शुभकार्यका कामहरू बिहानैबाट हुने उनको भनाइ छ ।
सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि राति ८:३० बजेसम्म, शनिबार र आइतबार दिउँसो १ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथा वाचनका साथ हरेक दिन साँझ ७:३० बजे आरती सञ्चालन हुने जानकारी संयोजक पौडेलले दिए । सप्ताह ज्ञान महायज्ञको ९ दिन नै मन्दिरमा बस्न चाहाने भक्तजनहरूका लागि आवासको पनि व्यवस्था गरिएको उनले बताए ।
सप्ताह ज्ञान महायज्ञको आठौँ दिनमा औपचारिक कार्यक्रम गरिने कार्यतालिका बनेको छ । अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्री, अष्ट्रेलियामा रहेका बिभिन्न संस्थाका पदाधिकारीहरूको उपस्थितिमा नवनिर्मित संरचनाहरूको उद्घाटन गरिनेछ ।
सप्ताह ज्ञान महायज्ञको प्रत्येक दिन भण्डारा लगाइनेछ । भण्डारा लगाउन ७ दिनका लागि दाताहरूको सहयोग प्राप्त भएको छ । ‘बाँकी दुई दिनको भण्डाराका लागि दाताहरूलाई आग्रह गरेका छौँ’, उनले भने ।
कार्यक्रममा कलाकारहरूबाट भजन कीर्तन, झाक्री समावेश हुनेछ । भक्तजनसँगै आउने बालबालिकाहरूको लागि खेल्ने सामाग्री पनि राखिने उनले जानकारी दिए । महायज्ञबाट संकलित रकम नेपाली सामुदायिक केन्द्र निर्माणमा खर्च गरिनेछ । उनले भने, ‘सामुदायिक केन्द्रको जमिन किन्न चार लाख ५० हजार ऋण लिएका थियौँ । सप्ताहबाट उठेको रकमले पहिला नेपाली सामुदायिक केन्द्रलाई ऋणमुक्त गरिनेछ ।’
बाँकी रहेको रकमले मिनी नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्रको आगामी योजनामा सहयोग पुग्नेछ ।
सप्ताह ज्ञान महायज्ञमा नेपाली सामुदायिक केन्द्रको आजीवन सदस्यता बढाउने तयारी रहेको उनले बताए । १३ सय आजीवन सदस्य संख्या रहेको एएनएएमसीको सदस्यता यो दशैंपछि कम्तिमा दुई हजार पुर्याउने लक्ष्य रहेको उनले सुनाए ।
भिक्टोरिया राज्य सरकारको तीन लाख अनुदान र चन्दाबाट संकलित तीन लाख अष्ट्रेलियन डलर खर्चेर मन्दिर परिसरमा सार्वजनिक शौचालय, कार्यक्रमहरु सञ्चालन गर्न स्टेज, पण्डितहरूका लागि वासस्थान, सीसीटिभी क्यामेरा जडान लगायतका कामहरु सम्पन्न गरिएको छ ।
एक महिना अघि मन्दिरमा भगवान पशुपतिनाथ, गणेश र दुर्गा भवानीको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न गरिएको थियो ।
करिब १ सय १५ रोपनी क्षेत्रफलमा फैलिएको बहुसांस्कृतिक केन्द्रमा भगवान गौतम बुद्धको मूर्ति स्थापना गरी यसलाई ध्यान केन्द्रका रुपमा समेत सञ्चालन गरिएको छ ।
मेलबर्नमा अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी) बनाउने गुरुयोजना अनुसार २०१७ डिसेम्बरमा सप्ताह लगाइएको थियो । पाँच वर्षपछि फेरि मेलबर्न सप्ताह २ आयोजना गरिँदैछ । भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूले बिहे, ब्रतबन्ध, पास्नीलगायतका शुभ कार्यहरु आफ्नै मन्दिर परिसरमा गर्न सकियोस् भन्ने उद्देश्यका साथ अगाडि बढेको एएनएमसीको गुरुयोजना निकै अघि बनेको भएपनि पहिलो मेलबर्न सप्ताह यस योजनाको कोशेढुंगा थियो । सात दिनसम्म चलेको उक्त सप्ताहबाट करिब ११ लाख अष्ट्रेलियन डलर संकलन भएको थियो ।
पण्डित पोखरेलले कथा बाचन गरेको उक्त कार्यक्रमबाट एक हजार बढी आजीवन सदस्यता बितरण गरिएको अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल कमिटी (एएनएमसी)का सचिव डा.तिलक पोखरेल बताए ।
नेपाली सामुदायिक केन्द्रको जग्गा खरिदका लागि १५ लाख अष्ट्रेलियन डलर आवश्यक रहेकोमा पहिलो मेलबर्न सप्ताहबाट ११ लाख अष्ट्रेलियन डलर संकलन भएको थियो ।
१५ सयका दरले आजीवन सदस्यता शुल्कबाट र दान भेटी र दाताहरूको सहयोगबाट उक्त ११ लाख संकलन गरिएको थियो ।
पहिलो मेलबर्न सप्ताहमा २५ हजार बढी अष्ट्रेलियन डलर दान गर्ने दाताहरूको अगग्गै सूची बनाएर राखेको सचिव पोखरेलले जानकारी दिए ।
उनका अनुसार पहिलो मेलबर्न सप्ताहको अवसरमा २५ हजार बढी दान गर्ने दातामा एनआरएनका पूर्वअध्यक्ष शेष घले, उनकी पत्नी जमुना गुरुङ घले, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, उनकी पत्नी लक्ष्मी योञ्जन र एएनएमसीका पूर्वअध्यक्ष डा.चन्द्रदीपक पोखरेल रहेका छन् । समाजका प्रतिष्ठित व्यक्तित्वहरुको सहयोगले अन्यलाई प्रोत्साहित मात्र गरेन बहुसांस्कृतिक केन्द्र निर्माणको योजनामा दरिलो पाइला चाल्न समेत सहयोग गरेको थियो ।
पहिलो मेलबर्न सप्ताहले नेपाली सामूदायिक केन्द्रको जग्गा खरिदका लागि बाटो खोलिदिएको स्मरण गर्दै सचिव पोखरेलले अबको मेलबर्न सप्ताह–२ ले नेपाली सामूदायिक केन्द्रलाई ऋण मुक्त गरिदिओस भन्ने अपेक्षा रहेका बताए । उनले जग्गा खरिदका गर्दा लिएको ४ लाख ५० हजार अष्ट्रेलियन डलर र बाँकी सामूदायिक केन्द्रका संरचना बनाउँदा लागेको खर्च एक लाख ५० हजार गरी जम्मा ६ लाख अष्ट्रेलियन डलर एएनएमसीमाथि ऋण रहेको बताए ।
उनले यस पटक पनि आजिवन सदस्यताको विस्तारबाट आर्थिक संकलन गर्ने लक्ष्य छ । उनले यस पटक सामूदायिक केन्द्रको आजिवन सदस्य संख्या बढाएर २ हजार पुर्याउने योजना रहेको सुनाए । सामूदायिक केन्द्रको सदस्यता लिएर मेलबर्नमा मिनी नेपालको अवधारणा सफल पार्न समूदायलाई उनले आग्रह गरेका छन् । उनले मेलबर्न सप्ताह–२ मा आएर नेपालका चर्चित गुरु दिनबन्धु पोखरेलद्वारा बाचित कथा सुनेर सहभागिता जनाउन अनुरोध गरेका छन् ।
मेलबर्न सप्ताह–२ आगमी अक्टोबर १५ देखि सुरु हुँदैछ । कलश यात्राबाट सुरु हुने नवाह महायज्ञमा सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि राति ८:३० बजेसम्म, शनिबार र आईतबार दिउँसो २ बजेदेखि साँझ साढे ८ बजेसम्म कथावाचन गरिनेछ । हरेक दिन साँझ ७:३० बजे आरति गरिने छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया