इजरायलमा हमला भइरहेका बेला प्रहरीभित्र अकस्मात् बैठक, निमित्त आईजीपीले दिए निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रदेश प्रहरी प्रमुखहरूले आ–आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा कायम गर्नुपर्ने बताएका छन् ।

प्रदेश प्रहरी प्रमुखहरूलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् सोमबार निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक राईले सुरक्षा योजना बनाइ शान्ति सुरक्षा बनाउन निर्देशन दिएका हुन् ।

राईले नजिकिँदै गरेका चाडपर्वमा हुनसक्ने कालोबजारी एवम् तस्करी नियन्त्रणको साथै सवारी दुर्घटना न्यूनीकरणका लागि अझ बढी सक्रियताका साथ जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

हालै देश विदेशमा घट्न गएका अप्रिय घटनाबाट उत्पन्न हुन सक्ने चुनौतीलाई विशेष ख्याल गर्दै राईले शान्ति सुरक्षा सहज बनाउन अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्न आग्रह गरेका छन् ।

सात वटा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिले आ–आफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, विशेष सुरक्षा योजना तय तथा कार्यान्वयन र भइरहेका गतिविधिका बारेमा जानकारी गराएका छन् ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको साथै वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति एवम् सात वटै प्रदेश प्रहरी प्रमुखहरु तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।

इजरायलमा नेपालीहरूको मृत्यु भएपछि आक्रोशमा प्रदर्शन हुन सक्ने सम्भावना बढेपछि प्रहरीले उच्च सर्तकता अपनाउन मातहतलाई निर्देशन दिएको छ ।

Published : Monday, 2023 October 9, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया