राष्ट्रसंघका महासचिव गुटर्रेस लुम्बिनी जाने, डा.लामाद्वारा भ्रमण ऐतिहाँसिक बनाउने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणका क्रममा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा महासचिव गुटर्रेस असोज २६ गते नेपाल आउँदैछन् ।

तीन दिने नेपाल बसाइका क्रममा उनले लुम्बिनीको पनि भ्रमण गर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले बताएका छन् ।

महासचिव गुटर्रेसको स्वागतका लागि कोषले तयारीसमेत थालेको छ । महासचिव गुटर्रेस नेपाल भ्रमणको क्रममा लुम्बिनी भ्रमण गर्ने निश्चित भएसँगै लुम्बिनी विकास कोषले भ्रमणका लागि सरोकारवालासँग छलफल सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाइली ठकुरीसहितको उपस्थिति रहेको छलफलमा महासचिवको स्वागतसँगै लुम्बिनीको सम्बर्धन र सहयोगका लागि अपील गर्ने साथै विश्वभर बुद्धको पवित्र जन्मस्थल लुम्बिनीबारे प्रचारप्रसार गर्ने छलफलको उद्देश्य रहेको उपाध्यक्ष डा.लामाले बताए ।

महासचिव गुटर्रेसको लुम्बिनी भ्रमणको तयारीका विषयमा छलफल गर्न उपाध्यक्ष डा.लामा शनिबार काठमाडौं आएका छन् । उनले विभिन्न सरोकारवाला निकायसँग छलफल गर्नेछन् ।

डा.लामाले कोषको उपाध्यक्षको जिम्मेवारी सम्हालेपछि उच्चस्तरीय अन्तर्राष्ट्रिय व्यक्ति आउन लागेको यो पहिलो पटक हो । डा.लामाले महासचिव गटर्रेसको भ्रमणलाई लुम्बिनीमा ऐतिहाँसिक बनाउने तयारी गरेका छन् ।

Published : Saturday, 2023 October 7, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया