प्रचण्डको चित्त दुखाएका ओली फकाउन बिहानै पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।

शनिवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दाहाल र ओलीबीच भेटवार्ता भएको हो ।

उनीहरूका बीच पछिल्लो राजनीतिक अवस्था र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिनिधिसभाको केही दिन अगाडि बसेको बैठकमा अध्यक्ष ओलीले सरकार र माओवादी पार्टीविरुद्ध निकै आलोचना गरेका थिए । ओलीले दिएका अभिव्यक्तिले माओवादीको चित्त दुखेको छ ।

एमालेका अध्यक्ष ओलीले फागुन १ गते विदा दिने माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालको निर्णयलाई हिंसा दिवस भनेर आलोचना गरेका थिए ।

शान्ति प्रक्रियासम्बन्धी विधेयकलाई माओवादीले नै टुङ्ग्याउन नचाहेको आरोप ओली लगाएका थिए । ओलीको ती अभिव्यक्तिहरूको माओवादीका नेताहरूले प्रतिवाद गर्दै आएका छन् ।

प्रधानमन्त्री दाहाल रिसाएको अनुभूति गरेका ओलीले शनिबार बिहान सिंहदरबारमा पुगेर भेटवार्ता गरेर विवादलाई साम्य पार्न खोजेका छन् ।

Published : Saturday, 2023 October 7, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया