मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ५ जना घाइते, खतिवडाद्वारा स्वास्थ्य लाभको कामना

काठमाडौं । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ३ सल्लेमा बलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

मंगलबार केतुकेबाट ध्याप्तीतर्फ जाँदै गरेको ग. ३ च ८१३५ नम्बरको बोलेरो ब्रेक फेल भई दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई प्रहरीले उद्धार गरी ओखलढुंगा सामुदायिक अस्पताल, सोब्रु लगिएको छ ।

घाइते हुनेहरूमा मानेभन्ज्याङ–३ बस्ने बलेरो चालक वर्ष २९ का अबिन राई, सोही स्थान बस्ने ३१ वर्षीया बडासरी राई, २५ वर्षीया नीमसरी राई रहेका छन् । ५१ वर्षीया गोर्सीमाया राई र ४६ वर्षीया मसलमाया राई पनि घाइते भएका छन् ।

घाइतेहरूको टाउँको, आँखाको डिल र छातीमा लगायतमा चोट लागेको छ । घाइतेमध्ये निर्मासरी राईको हात नचल्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परेको बोलेरो घटनास्थलमा नै रहेको र घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यसैबीच, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले जीप दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Published : Tuesday, 2023 October 3, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया