उपचारमा सबै सम्पत्ति स्वाहा हुने अवस्थाको अन्त्य गर्न लागेको छु : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताएका छन् ।

शनिबार वीरगन्जमा उनले उपचार गराएर सबै सम्पत्ति स्वाहा हुने तर, निको नभएर आत्महत्या गरी मर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपरेको बताए ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँचका लागि अस्पतालहरूको स्तरोन्नतिसँगै चाहिने जनशक्ति र उपकरण व्यवस्थापन गर्न सरकार जुटेको उनले बताएका छन् ।

मन्त्री बस्नेतले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने कार्यलाई प्राथमिकता दिएको बताएका छन् ।

चिकित्सक र स्वास्थ्यकर्मीलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र अराजक गतिविधि रोक्न सरकार अब कडारूपमा प्रस्तुत हुने बताए ।

उनले भने, ‘मुलुकको विभिन्न भागमा भएको चिकित्सकमाथिको दुव्र्यवहार र आक्रमणप्रति सरकार गम्भीर छ ।’

मन्त्री बस्नेतले भने, ‘चिकित्सकमाथि दुर्व्यवहार गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइसकिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

सरकार र आन्दोलनरत चिकित्सकबीचको वार्ता निष्कर्ष नजिक पुगिसकेकाले छिट्टै समस्या समाधान हुने दाबी गर्दै चिकित्सकलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार तयार रहेकाले आन्दोलन रोकेर काममा फर्किन चिकित्सकसँग उनले आग्रह गरेका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालमा छिट्टै मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक गृहकार्य भइरहेको मन्त्री बस्नेतले बताएका छन् ।

उनले ऐतिहासिक र राष्ट्रिय प्रतिष्ठासँग समेत जोडिएको नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या छिट्टै समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मधेश प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले मधेस प्रदेशलाई स्वस्थ्य प्रदेश बनाउने गरी प्रदेश सरकारले आवश्यक कार्य अघि बढाएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।

Published : Saturday, 2023 September 30, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया