मेयर र कर्मचारी भ्रष्टाचारी ठहर, कैद र जरिवानाको फैसला

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

शुक्रबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासबाट नगरपालिका प्रमुख जितेन्द्रप्रसाद गुप्तालाई विशेष अदालतले ६ महिना कैद सजाय तोकेको छ । गुप्तालाई ७० हजार रुपियाँ जरिवानासमेत हुने भएको छ ।

गुप्तासमेत दुईजना प्रतिवादी मुद्दामा विशेषले शुक्रबार फैसला दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ६ महिनापछि विशेषले फैसला सुनाएको छ ।

विशेषका उप–रजिस्ट्रार धनबहादुर कार्कीका अनुसार भ्रष्टाचारको मुद्दाका अर्का प्रतिवादी इन्जिनियर रामचन्द्र साहलाई पनि उति नै कैद र जरिवाना भएको छ ।
१७ फागुन ०७९ मा अख्तियारले नगरप्रमुख गुप्ता र इन्जिनियर साहलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो ।

उनीहरू दुवैले मिलेमतोमा सेवाग्राहीसँग एक लाख ४० हजार रुपियाँ घुस लिएको दाबी अख्तियारको थियो ।

विद्यालयको सभाहल निर्माणका क्रममा अन्तिम बिल भुक्तानीका लागि भ्रष्टाचारको रकम इन्जिनियर साहले घुस मागेका थिए ।

Published : Friday, 2023 September 29, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया