पूर्वअरनिको यातायातको बसपार्क नभत्काउन काठमाडौं महानगरलाई आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश गोकर्ण डाँगीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकालाई बसपार्क नभत्काउन आदेशमा निर्देशन दिइएको छ ।

निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२)(ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको अदालतले जनाएको छ । आदेशको जानकारी विपक्षीहरूलाई दिनु भन्ने आदेश छ ।

आदेश जारी नपर्ने आधार, कारण र प्रमाण भए सबुद प्रमाण सहित म्याद, सूचना पाएका मितिले बाटाको म्याद बाहेक १५ दिन भित्र आफैं वा कानून बमोजिमको वारेस मार्फत लिखित जवाफ पेश गर्न समेत अदालतले महानगरलाई आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने भन्दै अटेर गरे भत्काउने चेतावनी दिएको थियो ।

पूर्वअरनिको यातायात प्रा.लि.ले १४ रोपनी जग्गामा १० करोड खर्च गरेर बसपार्क निर्माण गरे पनि महानगरले एक बसपार्क नीति लिएको भन्दै सञ्चालन अनुमति दिएको छैन ।

प्रालिका अध्यक्ष केदार क्षेत्रीले महानगरपालिकाले पुरानो बसपार्कबाट बसहरू धपाएपछि विकल्पका लागि बाध्यतावश बसपार्क बनाउनु परेको बताएका छन् ।

Published : Friday, 2023 September 29, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया