स्थानीय तहले रोजगारी सृजनाका काम गर्न चाहे सहयोग गर्छु : मुख्यमन्त्री चौधरी

मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङमा बाढी र जमीन कटान रोक्न बबईको करिडोर र देउखुरीमा राप्ती करिडोर निमार्णलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

जिल्ला समन्वय समिति दाङको सातौँ जिल्ला सभामा उनले आर्थिक र भौतिक क्षेत्रको विकास हुन नसक्दा अरु विकास भएर मात्र नहुने बताए ।

उनले भने, ‘प्रदेश सरकार आर्थिक विकास तथा रोजगारीका लागि काम गर्ने तयारीमा छ, स्थानीय तहहरूले रोजगारी सृजना गर्ने खालका योजना ल्याएर काम गर्न चाहे प्रदेश सरकार सहयोग गर्न तयार छ ।’

अहिले धेरै युवाहरू रोजगारको लागि विदेश जाने लहर चलेको भन्दै मुख्यमन्त्री चौधरीले स्थानीयस्तरमा रोजगार दिएर यसलाई रोक्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताए ।

‘भौतिक विकासका लागि धेरै माग रहेको छ, प्रदेश सरकारसँग बजेट सीमित रहेकाले सबैको माग सम्बोधन गर्न सकिएको छैन’, उनले भने ।

भौतिक विकासले मात्र देशको विकास नहुने भन्दै नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउन आवश्यक रहेको उनले बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

‘प्रदेशभरको स्वास्थ्य क्षेत्रको सुधारका लागि भौतिक पूर्वाधारसँगै अन्य क्षेत्रको काम भइराखेको छ’, मन्त्री खनालले भने ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले जिल्ला समन्वय समितिले प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् ।

समन्वय समितिसँग दक्ष जनशक्ति नभए पनि विषयगत कार्यालयहरूबाट जनशक्ति माग गरेर भए पनि प्रभावकारी रूपमा अनुगमन गर्न डा.केसीले सुझाव दिएका छन् ।

Published : Friday, 2023 September 15, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया