पोखरामा टेवानको तीज महोत्सव, व्यवसायी टाटपल्टिन लागेको भन्दै सहयोगको अपील

पोखरा । पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै सकिएको छ ।

भदौ २५ देखि सोमबारसम्म लेकसाइडको कोमागाने पार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवर्द्धन गरिएको छ ।

पोखरा महानगरपालिकाको प्रवर्द्धन, पोखरा पर्यटन परिषदलगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहेको थियो ।

हाजिरी जवाफ प्रतियोगिता, तीज गीत प्रतियोगिता, महिला दौड प्रतियोगिता लगायतका कार्यक्रमले महोत्सवको रौनकता भएको थियो ।

महोत्सवको समापनका दिन गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रम गरिरहनुपर्ने बताए ।

तीजका समय टेवानले सांस्कृतिक महोत्सवको आयोजना गर्दा प्रदेशबाट उत्पादितवस्तुको बजारीकरण र प्रवर्द्धनमा टेवा पुगेको उनले बताए । सरकार खस्किएको पर्यटन क्षेत्रलाई माथि उठाउने गरी नै लागिरहेको भनाई उनको छ ।

‘हामीलाई थाहा छ । पर्यटन क्षेत्र पहिले जस्तो छैन । व्यवसाय खस्किदो छ’, उनले भने, ‘पर्यटकको आगमन र उनीहरूको खर्चलाई व्यवस्थापन गर्न सकिएको अवस्था छैन ।’

थापाले भने, ‘हामी यसको क्षेत्रको श्रीवृद्धिका लागि नै लागिरहेका छौं । सहज नीति निर्माण गरी शीघ्र पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्य प्रदेश सरकारको छ ।’

मन्त्री थापाले पर्यटन व्यवसायीलाई मर्का नपर्ने गरी नै सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लागत सहजीकरणले नै गण्डकी प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने धारणा थापाको छ ।

प्रदेशमा उत्पादित वस्तुहरूको बजारीकरणमा ध्यानदिन सकियो भने आर्थिक लाभ लिन सकिने थापाले बताएका छन् । निजी क्षेत्रसँग सरकार सहजीकरण गर्न तयार रहेको मन्त्री थापाले बताएका छन् ।

मुग्लिनदेखि पोखरासम्मको सडक मर्मतको काम छिटो सक्न केन्द्र सरकारलाई दबाबदिने थापाले बताएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा बाह्य मुलुकबाट सिधै हवाई अवतरण हुने वातावरण बनाउने गरी प्रदेश सरकार लागि रहेको उनले बताएका छन् ।

गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले टेवानले तीज सांस्कृतिक महोत्सवको आयोजना गरेर उदाहरणीय काम गरेको बताएका छन् ।

उनले अफसिजनमा पोखराको पर्यटन प्रवर्द्धनमा यसले ठूलो मदत पुग्ने बताएका छन् । गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले तीजका बेला महिला दिदी बहिनीहरूले गरेको कार्यक्रम सफल रुपमा सम्पन्न भएको बताइन् ।

‘सुरुवातमा नै सफलतामिलेको छ, यसको निरन्तरताको कामनागर्दछु’, गुरुङले भनेकी छिन् । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि बेलाबेलामा यस्तो मेलाको आयोजना भइराख्नुपर्ने धारणा उनको छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको मर्कालाई सरकारले बुझ्नुपर्ने बताएका छन् । उनले निजी क्षेत्रबाट पर्यटन प्रवर्द्धनका लागि पहलकदमी हुँदा सरकारको चाँसो सकरात्मक नहुनु समस्या भएको बताएका छन् ।

बोलेर भन्दापनि काम गरेर नै देखाउने समय आएको भनाई उनको छ । पर्यटन क्षेत्र टाट पल्टिन लागेको र धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले सरकारले नै समयमा कदम चाल्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले टेवानले सकरात्मक कदम चालेको बताएका छन् । सुरुवात राम्रो भएकाले यसले निरन्तरता पाउनेमा आफू आशावादी रहेको भनाई उनको छ । उनले सरकार, निजी क्षेत्र एक भएर नै अहिलेको समस्यालाई समाधान गर्न सक्ने उल्लेख गरेका छन् ।

टेवानकी अध्यक्ष कमला गिरीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै संघ/संस्था तथा व्यक्तिलाई धन्यवाद दिएकी छिन् । यो सुरुवात भएको र आगामी दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाउने भनाई उनको छ ।

Published : Thursday, 2023 September 14, 8:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया