माग र पूर्तिबीचको ग्यापले मान्छेलाई आत्महत्याको बाटोमा डोहोर्‍याएको छ : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले माग र पूर्तिबीचको ग्यापले मान्छेलाई आत्महत्याको बाटोमा डोहोर्‍याएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सभापति खतिवडाले भने, ‘सम्पन्नताले मात्रै सबै कुरा समाधान हुँदो रहेनछ । मान्छेले धेरै ठूलो मागको अपेक्षा गर्‍यो, पूर्ति थोरै भयो र बीचमा ग्याप धेरै भयो भने मान्छे फ्रस्टेसनमा जान्छ ।’

‘जुन अपेक्षा थियो त्यो नपाएपछि विस्तारै आत्महत्या गर्ने अवस्थामा पुग्छ’, खतिवडाले भनेका छन् । विश्वव्यापी रुपमा द्रूत गतिमा फैलिएको सामाजिक सञ्जालले पनि मोटिभेशन फैलाउन नसकेको उनले बताएका छन् ।

खतिवडाले टोलटोल, गाउँगाउँमा मानिसहरूलाई मोटिभेशन गर्ने पद्धतिको विकास गरेर आत्महत्याबाट निरुत्साही गराउने बाटोमा लाग्नुपर्ने बताएका छन् ।

सभापति खतिवडाले देशमा सुशासनको अवस्था एकदमै दयनीय रहेको बताएका छन् । अहिले बनेको सरकारबाट मानिसहरूले धेरै अपेक्षा गरेपनि आफूहरूले त्यसलाई पूरा गर्न नसकेको खतिवडाले बताएका छन् । राजनीतिक दलहरू झगडा मात्रै गरेर बसेको सभापति खतिवडाले बताएका छन् ।

सरकारले जनतालाई डेलिभरी दिन नसक्दा निराशा उत्पन्न भएको उनले बताए । अहिलेको परिवर्तन निराशाका लागि मात्रै नभएको उनले बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तितर्फ लक्षित गर्दै खतिवडाले आगो लगाउने कुरा गरेर र मान्छेलाई उत्तेजितमात्रै बनाएर समस्याको समाधान नहुने बताए ।

संयमित भएर धैर्यतापूर्वक मुलुकको अवस्थाअनुसार देश र जनतालाई सम्बोधन गर्न सकेको खण्डमा आत्महत्या निरुत्साहित बनाउने वातावरण सिर्जना हुने उनले बताएका छन् ।

खतिवडाले दलहरूले बहुदलीय व्यवस्था, गणतन्त्र, संविधानसभाबाट संविधान निर्माण र संविधान कार्यान्वयनबाट पनि राजनीतिक स्थिरता र जनताको मनोकांक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लव नेपालको कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको थियो । त्यसको केही दिनपछि कांग्रेसका नेता खतिवडाले क्लवको कार्यक्रममा सहभागी भएका छन् ।

Published : Sunday, 2023 September 10, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया