लुम्बिनीमा लिन होइन, दिन आएको छु : डा.लामा

काठमाडौं । पूर्वअर्थराज्यमन्त्री समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।

बिहीबार लुम्बिनीमा पत्रकार सम्मेलन गरेर डा.लामाले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको बताए । उनले स्थानीय, बुद्धिजीवी, पत्रकार र अन्य विभिन्न संघसंस्थालाई समेत साथ र सहयोग गर्न आग्रह गरेका छन् ।

‘मेरो धार्मिक आस्थाको ठाउँ हो लुम्बिनी, ईतिहास बनाउन सँकु भनेर आएको छु’, उनले भने, ‘मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिन होइन, दिन आएको छु ।’

डा.लामाले लुम्बिनी गुरुयोजना आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो कार्यकालमा गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्देश्य रहेको बताए ।

गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि काम गर्ने गरी आफू आएकाले सहयोग गर्न उपाध्यक्ष डा. लामाले आग्रह गरेका छन् । उनले भने, ‘म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिन ।’

उनले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरू उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

डा.लामाले आफ्नो क्षमतालाई लुम्बिनी बनाउन खर्चिने बताएका छन् । उनले आफूले जीवन नै बुद्ध धर्मका लागि अर्पण गरेको बताउँदै बाँकी रहेको जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन आफू लुम्बिनीको उपाध्यक्ष बनेको बताए ।

विश्वका विभिन्न मुलुकबाट लुम्बिनी आउन चाहनहरूलाई अनुलुकुल वातावरण बनाउने उनले बताए । उनले लुम्बिनीमा बौद्ध धर्म गुरुहरूको मोलम (पूजा) जस्ता धार्मिक गतिविधि बढाएर बौद्ध पर्यटकहरूलाई आर्कषित गर्ने योजना रहेको बताएका छन् ।

‘यो वर्ष मोलुम (पूजा)का कार्यक्रमहरू तय भइसकेको छ’, उपाध्यक्ष डा.लामाले भने । उनले रामग्राम र तिलौराकोटमा पनि पूजा, ध्यान र बत्ति बाल्ने ठाउँ तुरुन्तै निर्माण गर्ने बताएका छन् ।

डा.लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएको बताएका छन् ।

उनले भने, ‘अब ६/७ अर्बको रकम जुटाएर गुरूयोजना सकाउनु छ, अहिले देशको बजेटमा नि समस्या छ ।’ उपाध्यक्ष डा.लामाले भने, ‘म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने कोसिस गर्नेछु ।’

लुम्बिनीको जमिन, स्रोत, कर्मचारी, स्थानीय सहयोग सबै पारदर्शी बनाउने भन्दै उनले आफू कमाउन नभई लुम्बिनी बनाउन आएकाले सबैको साथ र सहयोग चाहिएको बताए ।

डा.लामाले गुरुयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताउँदै त्यसका लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँग परामर्शमा गरिने बताएका छन् ।

उनले भने, ‘४५ वर्षअघि केन्जो टाँगेले बनाएको योजना हो, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ ।’

उनले बुद्धजन्मस्थल लुम्बिनी वरिपरिका स्थानीयहरुलाई अपनत्व बनाउने गरी काम गर्ने समेत बताए । उनले लुम्बिनी विकास कोषले रामग्राम, तिलौराकोट र देवदहलाई बढि केन्द्रित गरी योजना बनाएर काम गर्ने समेत बताए।
उनले कर्मचारीहरूले लुम्बिनी बनाउनका लागि धेरै काम गरेको बताउँदै केही कमजोरीलाई सुधार गर्दै जाने बताए । उनले कार्यालयमा कुर्चि खाली नराख्न निर्देशन दिईसकेको समेत बताएका छन् ।

Published : Friday, 2023 September 8, 7:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया