ललितपुरसहित विभिन्न ठाउँबाट दश जना पक्राउ, नुनत पनि फन्दामा परिन्
काठमाडौं । प्रहरीले ललितपुरबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–२४ धापाखेलबाट अवैध लागूऔषध गाँजा ८ केजी र नगद ३५ हजार रुपियाँसहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुरको मकवानपुर गढी गाउँपालिका–७ गढी घर भएका ३५ वर्षीय बहादुरसिंह घलानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
घलानको कोठामा लागूऔषध गाँजा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यता, मोरङको पथरीशनिश्चरे नगरपालिका–६ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी ५ सय ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय बज्रमोहन यादव र ४१ वर्षीय सुरेन यादव रहेका छन् । उक्त ठाउँमा लागूऔषध गाँजा बिक्रिवितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले मोहन यादवको घरबाट करिब ८ केजी र सुरेन यादवको साथबाट ५ सय ग्राम लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा चेक पोष्टबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्रामसहित सोही गाउँपालिका–२ जमुनि बस्ने १९ वर्षीय बबि सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकमा बेरेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
झापाको गौरीगंज गाउँपालिका–३ बाट अवैध लागूऔषध गाँजा करिब २ केजी ६ सय २० ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–८ बैराति बस्ने २४ वर्षीय बबि राजबंशी र गौरीगंज गाउँपालिका–३ गौरीगंज बस्ने १९ वर्षीय सञ्जीव रौनियार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले राजबंशीलाई करिब ७ सय मिलिग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा राजबंशीले उक्त लागूऔषध गाँजा संन्जिव रौनियारबाट किनेको खुल्न आएपछि रौनियारको घरमा तलासी गर्दा करिब १ किलो ९ सय २० ग्राम लागूऔषध गाँजा फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
कैलालीको धनगढी उप–महानगरपालिका–९ बङ्ग्राकटानबाट अवैध लागूऔषध ब्राउन सुगर २ सय १० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–८ बुद्धचोक बस्ने २१ वर्षीया मनिका बुढा, सोही उप–महानगरपालिका–८ धनगढीगाँउ बस्ने २६ वर्षीय महेश राना र २० वर्षीय रामलखन राना रहेका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलालीको जानकी गाउँपालिका–६ जगतपुर घर भई टीकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने २४ वर्षीया नुतन कडायतलाई अवैध लागूऔषध १ सय मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले नुतनले संचालन गरेको नमस्ते होटलमा बसिरहेको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया