विभागको पत्रले काठमाडौंमा पक्राउ परे महत
काठमाडौं । प्रहरीले ४६ वर्षीय तेजेन्द्र महतलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपियाँ ठगी गरेको अभियोगमा महतलाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चन्द्रागिरी नगरपालिका–५ सतुङ्गल बस्ने तनहुँको शुक्लागण्डकी नगरपलिका–८ घर भएका महतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
महतले वैदेशिक रोजगारीमा फ्रान्स जानको लागि प्रतिव्यक्ति १० लाख रुपियाँ लाग्छ भन्दै धमाधम पैसा उठाएका थिए ।
उनले फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिन्छु भनेर प्रलोभन देखाएको आरोप छ ।
महतले आकर्षक कमाई हुन्छभन्दै प्रलोभनमा पारी ३ जना पीडितहरूबाट जम्मा १९ लाख रुपियाँ ठगी गरेका थिए ।
महतविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरी नगरपलिका–५ सतुङ्गलबाट पक्राउ गरेको छ ।
महतलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया