त्रिभुवन विमानस्थलबाट छिरेको १२ करोडको अबैध कोकिनसहित युवती ठमेलमा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले १२ करोडभन्दा धेरै मूल्य बराबरको कोकिन र चरेसहित ६ जना विदेशी तथा नेपाली नागरिकहरूलाई पक्राउ गरेको छ ।
शुक्रबार कोटेश्वरमा ब्यूरोले पत्रकार सम्मेलन गरेर लागुऔषध कोकिन ५ किलो ६ सय ग्रामसहित २ जना बिदेशी महिलाहरू पक्राउ गरिएको ब्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालले बताएका छन् ।
हवाई मार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल भित्रिने शंकास्पद बिदेशी नागरिकहरूको विशेष निग्रानी गर्दै जाँदा ठमेलबाट दुई जना महिलालाई रंगेहात पक्राउ गरिएको एसएसपी खनालले बताए ।
महिलाहरूलाई लागुऔषध कोकिनसहित पक्राउ गरी उनीहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन,२०३३ बमोजिम अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।
पुस ६ गते दुबईको उडान नम्वर एफजेड ०५८७ द्वारा ब्राजिलको रियो डि जेनेरियोबाट दुबई हुँदै काठमाडौं आएकी ३२ वर्षीया युक्रेनकी नागरिक दारियान्तोनेन्कोलाई पक्राउ गरिएको थियो । उनलाई ठमेलको एउटा होटेलबात पुस ६ गते साँझ साढे ४ बजे पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दारियान्तोनेन्को साथबाट ब्यूरोले युक्रेनको पासपोर्ट, साथमा ल्याएको २ वटा सुटकेसभित्र फल्स बटम बनाई लुकाई राखेको लागुऔषध कोकिन ५ किलो ६०० ग्राम बरामद गरेको एसएसपी खनालले बताएका छन् ।
उनको साथमा रहेको अमेरिकी डलर ३ सय, थाई भाट ४ सय ८० रुपियाँ, नेपाली रुपियाँ ५ हजार पनि बरामद गरिएको छ ।
थप अनुसन्धानको सिलसिलामा बरामद लागुऔषध कोकिनसहितको सुटकेस लिन बैंककबाट मलेसिया हुँदै काठमाडौं आएकी थाईल्याण्डकी नागरिक २५ वर्षीया कीआरिए फोनोकलाई पुस ७ गते राति ९ बजे ठमेलको होटेलबाट पक्राउ गरिएको एसएसपी खनाले बताएका छन् ।
एसएसपी खनालले भने, ‘बरामद लागुऔषध कोकिनको अवैध बजार मूल्य
लागुऔषध कोकिनप्रति १ ग्रामको रू. २१,६००।– को दरले ५ किलो ६०० ग्रामको अन्दाजी रू. १२ करोड ९ लाख ६० हजार हुन आउँछ ।’
यसैबीच, ब्यूराले लागुऔषध चरेश ३३ किलोसहित १ जना विदेशी र ३ नेपाली गरी ४ जना व्यक्तिहरूलाई काठमाडौंमा पक्राउ गरेको छ ।
विदेशी मुलुकमा अवैध लागुऔषध चरेश तस्करी गर्न लागेको विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले चरेशसहित ४ जनालाई पक्राउ गरिएको एसएसपी खनालले बताएका छन् ।
उनीहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।
पुस ४ गते ३ बजे काठमाडौंको चन्द्रागिरी नगरपालिका २ देउराली भञ्ज्याङस्थित सडक किनारबाट सोही ठाउँ बस्ने ६४ वर्षीय अल्कबहादुर तामाङलाई पक्राउ गरिएको थियो ।
तामाङले बा १९ प ३८०४ नम्बरको मोरसाईकलको पछाडि सिटको भागमा सुटकेसलाई डोरीले बाधी मोटरसाईकलमाथि बसीरहेको अबस्थामा चरेश १० किलोसहित पक्राउ गरिएको थियो ।
थप अनुसन्धान गर्दै जाँदा बरामद लागुऔषध चरेश धादिङ तर्फबाट काठमाडौंसम्म ल्याएर दिने धादिङको थाक्रे गाउँपालिका २ ठेगाना भएकी २७ वर्षीया स्यानी चेपाङ र २८ वर्षीय पम्फे चेपाङलाई पनि सोही दिन देउराली भञ्ज्याङस्थित सडक किनारबाट पक्राउ गरिएको एसएसपी खनालले बताएका छन् ।
उनीहरूसँग लागुऔषध चरेश कारोबारमा संलग्न लागुऔषध चरेश खरिद संकलन गरी भारततर्फ निकासी गर्दै आएका भारतको भाङ्ग मनाली जिल्ला कुल्लु एच.पी. ठेगाना भई हाल नागार्जुन नगरपालिका २ शान्तिचोकस्थितमा डेराकोठा गरी बस्दै आएका ६५ वर्षीय भारतीय नागरिक शाराप ग्यालत्सेनलाई सोही दिन पक्राउ गरिएको छ ।
ग्यालत्सेनको डेरा कोठाबाट भारततर्फ निकासी गर्नको लागि ३ बटा सुटकेसको पिंधतर्फको भागमा फल्स बटम बनाई लुकाई सञ्चय गरी राखेको लागुऔषध चरेश २३ किलो पनि बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूको साथबाट प्रहरीले डिजिटल तराजु थान –१, फल्स बटम बनाउन प्रयोग गरेको औजारहरू कैची, प्लास, स्क्रु, रेञ्चु, नट, टेपहरू लगायत लागुऔषध चरेश लुकाई राखेको सुटकेस थान ३ र पासपोर्टसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
बरामद लागुऔषध चरेशको अवैध बजार मूल्य चरेशप्रति १ किलोको रू. ५५ हजारको दरले ३३ किलोको रू. १८ लाख १५ हजार रहेको एसएसपी खनालले बताएका छन् ।
बरामद लागुऔषध कोकिन र चरेशको अवैध बजार मूल्य कूल बाह्र करोड सत्ताईस लाख पचहत्तर हजार रहेको ब्यूरोका प्रवक्ता एवम् सूचना (एसपी) अधिकारी योगेन्द्रकुमार खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि, ब्यूरोले करोडौं रुपियाँ मूल्य बराबरको चरेस, कोकिन, हेरोईनल, गाँजागायतका लागूऔषधिसहित मानिसहरू पक्राउ गरिसकेको छ ।







बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया