काठमाडौंमै अजय देवगनको फिल्म ‘रेड’कै जस्तो घटना

काठमाडौं । काठमाडौं प्रहरीले ठगी र कीर्ते काण्डमा ८ जनाको समूहलाई पक्राउ गरेको छ ।

मंसिर २३ गते प्रहरीले बालाजु क्षेत्रबाट ८ जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ बसपार्क ईलाकामा आन्तरिक राजस्व कार्यालयको पोसाक र परिचय–पत्र समेत लगाएका आन्तरिक राजस्वको कर्मचारी बताउने व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिभिन्न होटल तथा रेष्टुरेन्टहरूमा राजस्व अनुगमनका लागि आएका हौंभन्दै उनीहरूले नयाँ बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरूमा छापामारेका थिए ।

बिभिन्न बहानामा कर छली गर्ने गरेकाले नगद जरिवाना तिर्नुपर्ने भन्दै सो समूहले आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिई पैसा असुल गरेका थियो ।

तत्कालै प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसमेतको प्रहरी टोली परिचालन गरी उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–३ घर भई हाल बालाजु बस्ने २९ वर्षीय बिनबहादुर बि.क., पाँचथरको फिदिम नगरपालिका– १ घर भई हाल ललितपुर बस्ने २२ वर्षीया सृजना भट्टराई, अछामको बान्नीगढी गाउँपालिका–६ घर भई हाल कोटेश्वर बस्ने १९ वर्षीय सागरजंग लुहार, सिन्धुपाल्चोकको साँगागढीचोक नगरपालिका– ३ घर भई हाल सामाखुशी २३ वर्षीया प्रमिशा तामाङ रहेका छन् ।

अछामको बान्गढी जयगढ गाउँपालिका– ६ घर भई हाल ललितपुर बस्ने २३ वर्षीया दुधकला बि.क., नुवाकोटको बेलकोटगढी नगरपालिका– १ घर भई हाल मनमैजु बस्ने २१ वर्षीया अञ्जना तामाङ, कञ्चनपुरको बेतकोट नगरपालिका– ९ बस्ने २४ वर्षीय राजिव बिष्ट र कञ्चनपुरको बेतकोट–१० घर भई हाल थापाथली बस्ने २५ वर्षीय डेबिड धामीलाई प्रहरीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

राजिव बिष्टको साथबाट प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प थान–२, अनुगमन अधिकृत लेखिएको स्टाम्प थान–१, हस्ताक्षर भएको स्टाम्प थान–१, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरू, राजस्व सम्बन्धी किताबहरू, आन्तिक राजस्व कार्यालयको परिचयपत्र थान–७ बरामद गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले ८४ हजार ७ सय ३० रुपियाँ पनि बरामद गरेको छ ।

डेबिड धामीको डेरा कोठाबाट प्रहरीले आन्तिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद–४९ ठेली, रोजगारी आवेदन फारमहरू फारमहरू, आन्तिक राजस्व कार्यालय लेखिएको लेटर प्याडका पानाहरू, आन्तरिक राजस्व कार्यालय लेखिएको परिचय–पत्र तथा परिचय–पत्र झुण्ड्याउने डोरी, सीपीयु थान–१, ट्याक्स सोलुसन लेखिएको स्टाम्प थान–१ पनि बरामद भएको छ ।

पक्राउ परेका ८ जना व्यक्तिहरू उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूर तथा परिच्छेद–२५ को २७६ को कीर्ते गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ ।

८ जनाको समूहले बिगत ४ दिनदेखि बसपार्क ईलाकामा बिभिन्न होटल लज, पसलहरू तथा फुटपाथ पसलहरूबाट समेत बिभिन्न परिमाणमा रकम असुल गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

पीडितहरूबाट प्राप्त रसिद र मोबाइल–पेबाट समेत गरी ५ लाख ८ हजार ६ सय ४० रुपियाँ संकलन गरेको खुलेको छ ।

हाल सम्म ४ जनाको लिखित जाहेरी पर्न आएको छ । अन्य पीडितहरू पनि सम्पर्कमा आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

अजय देवगन अभिनित बलिउड फिल्म ‘रेड’बाट प्रभावित भएर ८ जनाको समूहले सोही फिल्मको शैलीमा कार्य गरेको देखिएको छ । रेड फिल्मकै शैलीमा यो गिरोहले आफ्नो काम फत्ते गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

Published : Sunday, 2022 December 11, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया