अर्का मुख्यमन्त्रीको पद पनि धरापमा, भ्रष्टाचारीभन्दै राजीनामा माग

जनकपुर । भ्रष्टाचार काण्डमा मुछिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ठूलो तनाब भएको छ ।

मुख्यमन्त्री राउतको राजीनामा माग गरेर जनकपुरसहित प्रदेश २ का विभिन्न जिल्लाहरूमा दिनदिनै प्रदर्शन भएपछि तनाबको स्थिति उत्पन्न भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारेर मुख्यमन्त्री राउतको काण्डको पर्दाफास गरेपछि प्रदेश २ मा तरंग उत्पन्न भएको छ ।

राउतको पार्टी जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले अख्तियारको विरोधमा प्रदर्शन गर्न भ्याइसकेको छ ।

तर, प्रदेश २ का सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी लगायतले राउतलाई मुख्यमन्त्री पदबाट राजीनामा दिन दवाव दिँदै प्रदर्शन गर्नेदेखि विज्ञप्तिहरू जारी गरेका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि मुख्यमन्त्री राउतको राजीनामा माग गरेर प्रदर्शन गरेको छ ।

सीके राउतको जनमत पार्टीले पनि जनकपुरमा प्रदर्शन गरेको छ । जनमत पार्टीले राउतलाई पदबाट राजीनामा दिन र हदैसम्मको कारबाही गर्न माग गरेको छ । सोमबार यो पार्टीले जनकपुरधाममा भव्य प्रदर्शन गरेको छ ।

मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।

अख्तियारले साइकल खरिद सम्बन्धी फाइल नियन्त्रण लिएर गएको छ । अख्तियारले फाइल लगेपछि मुख्यमन्त्री राउत र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई तनाब भएको छ ।

२०७६ असार १६ गते मुख्यमन्त्री राउतको अध्यक्षतामा बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरी ९ करोड ८४ लाख १८ हजार मूल्यका १४ हजार थान साइकल २६२ विद्यालयका प्रधानाध्यापक वा विद्यालयका प्रतिनिधिलाई ८ कक्षामा पढ्ने छात्रा संख्याको आधारमा उपलब्ध गराएको थियो ।

साइकल खरिदमा अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनले समेत उल्लेख गरेको छ ।

Published : Monday, 2021 October 4, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया