कांग्रेसका सीआईडीसँग होस गरौँ, कम्युनिस्टले केही लछार्न सक्दैन, जित निश्चित छ : नेता बस्नेत

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसविना यो देश चल्न नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ ले बाह्रबिसेमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट भनेको भ्रष्ट रहेको बताए । जो कम्युनिस्ट भए पनि भ्रष्ट र निकम्मा रहेको उनले बताएका छन् । दुईतिहाइ पाउँदा पनि कम्युनिस्टले देश चलाउन नसकेको बताए ।

केपी ओलीका कारण मुलुकमा राजनीतिक अस्थिरता र बेथिति भएको बताएका बस्नेतले कम्युनिस्टबाट देश चल्न नसक्ने भएपछि कांग्रेसको पाउमा ल्याएर सत्ता दिएको बताए ।

उनले भने, ‘केपी ओली, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराईले ५० वर्ष कांग्रेस आउँदैन भन्थे । ओलीले गोद्न थालेपछि ग्वाँ ग्वाँ रोएर माधव नेपालहरू शेरबहादुर देउवासमक्ष प्रधानमन्त्री दिन बिहानै बेलुका गएका हुन् ।’

पूर्वमन्त्री बस्नेतले कांग्रेसले कम्युनिस्टलाई केही लछार्न नसक्ने बताएका छन् । उनले भने, ‘वडादेखि प्रतिनिधि सभासम्म एकलौटी रुपमा जित्छौँ’, उनले भने, ‘सीआईडी कांग्रेसबाट होस गर्नुपर्छ । उनीहरूसँग बच्न सक्यौँ भने हामीले जित्छौँ । कांग्रेसले जित्छ ।’

बस्नेतले कांग्रेसभित्रका सुराकीहरूसँग सचेत हुनुपर्ने बताए । उनले कांग्रेसका अन्तर्घातीहरूका कारण वडाहरूमा समेत कांग्रेसका उम्मेदवार पराजित भएको बताए ।

नेता बस्नेतले दोर्जे लामालाई माओवादीको सीआईडीको आरोप लगाएका छन् । उनले भने, ‘दोर्जे लामाले एमालेमा जाँदा दुई सय युवा लैजान्छु भन्थे । २० जना गएनन् । अहिले कांग्रेसविरुद्ध माओवादीका लागि सीआईडी गर्छन् ।’

नेता बस्नेतले सभापति विकास लामालाई पार्टीको भवन बनाउनुपर्दा एमालेको सांसदसँग पैसा लिएको भन्दै कम्युनिस्टले कांग्रेसको भवन बनाउन किन पैसा दियो भनेर प्रश्न उठाएका छन् ।

उनले भने, ‘किन दियो ? भोट नहालेर दिन्छ ? कांग्रेसको सभापतिले भनेर कम्युनिस्टको सांसदले पैसा दिने कार्य भएको छ’, उनले भने । सभापति विकास लामाले कांग्रेसलाई बिगारेको आरोप उनले लगाए ।

उनले विपतका बेला कांग्रेसले सिन्धुपाल्चोकमा राहत वितरण गरेको बताए । कोरोना महामारी र बाढीपहिरोबाट समस्यामा परेका जनतालाई कांग्रेसले सक्दो सहयोग गरेको उनले बताए ।

कोरोना महामारीका बेला कांग्रेसले स्वास्थ्य सामग्री निःशुल्क वितरण गर्दा कम्युनिस्टहरूले दुःख दिएर मुद्धा लगाउने प्रयास गरेको नेता बस्नेतले बताएका छन् ।

अग्नि सापकोटाले बिरामी लिन ल्याएको सरकारी हेलिकप्टरमा चौताराबाट आफ्ना कार्यकर्तालाई चढाएर काठमाडौं लगेको बस्नेतले बताएका छन् ।

सिन्धुपाल्चोकमा प्राकृतिक विपत्ति हुँदा हेलिकप्टर चढेर आउने र सहयोग नदिएर रमिता हेरेर जानेहरूप्रति कांग्रेस नेता बस्नेतले आक्रोश पोखेका छन् ।

मेलम्चीको बाढीपहिरोले पुल बगाए प्रङ्ग उठाएका नेता बस्नेतले भने, ‘पुल बगेपछि प्रधानमन्त्री र गृहमन्त्रीज्यूलाई फोन गरेर बेलिब्रिज तत्काल बनाउन आग्रह गरे । अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ । कर्मचारीले काम गर्न थालेका छन् । सबैले पुलको काम भएपछि समर्थन गरे । हाम्रै कांग्रेसको एउटा नेताले बिरोध गरेका छन् ।’

सिन्धुपाल्चोकका गरिव र जेहेन्दार विद्यार्थीलाई काठमाडौंमा निःशुल्क अध्ययनको व्यवस्था मिलाइदिएको उनले बताए । बाढीपहिरोबाट समस्यामा परेका विद्यार्थीलाई कांग्रेसले काठमाडौंमा कक्षा १२ सम्मको निःशुल्क शिक्षाको व्यवस्था गरिदिएको बस्नेतले बताएका छन् ।

उनले सिन्धुपाल्चोकमा कम्युनिस्टहरूले बालुवा तस्करी गरेको आरोप लगाए । उनले अग्नि सापकोटाका मान्छे र माओवादीका नेताहरू बालुवा तस्करीमा लागेको बताए ।

कार्यक्रममा कांग्रेस नेताहरू हरिशरण श्रेष्ठ, हीरा नेपाल, नीमा लामा, प्रेम लामा, बालकृष्ण बस्नेतलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2021 September 19, 12:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया