रामचन्द्र–शशांकद्वारा ५ वर्ष अगाडिको सहमति उल्लंघन, सिंहको खुलासाले खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका नेता महामन्त्री प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाबीच सहमति भएको बताएका छन् ।

शनिबार काठमाडौंको शोभा भगवतीमा स्व.गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा शालिकमा माल्यार्पणपछि सम्वाददाताहरूसँग कुरा गर्दै नेता सिंहले १३औँ महाधिवेशनमा रामचन्द्र पौडेललाई सभापति र शशांक कोइरालालाई महामन्त्रीमा निर्वाचन लड्ने सहमति हुँदा १४औं महाधिवेशनमा सभापति पदमा आफूले लड्ने सहमति भएको बताए ।

उनले कम्युनिस्टहरू असफल भएका कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको र सरकारले जनभावना अनुसार काम गर्नुपर्ने बताएका छन् ।

पार्टीको १४औं महाधिबेशनबाट सक्षम नेतृत्व आउने उनले बताएका छन् । पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै नेता सिंहले विवाद भएका जिल्लामा विध र विधान अनुसार समस्या समाधान गर्नुपर्ने बताए ।

नेता सिंहले आफूहरुको समूहबाट साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको बताए । आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनले बताएका छन् ।

उनले पार्टीलाई सबल समुद्ध बनाउन र विधानसम्मत सञ्चालन गर्नका लागि आफ्नो सभापतिमा उम्मेदवारी भएको बताए ।

उनले सभापति शेरबहादुर देउवा इतरका नेताहरूबीच सहमति भई एकजना उम्मेदवार हुने बताएका छन् ।

कांग्रेस नेता सिंहले आफूले सभापति पदबाट उम्मेदवारी फिर्ता नलिने दोहोर्‍याएका छन् ।

सिंहले गठबन्धनका केही दलहरूको आन्तरिक ब्यवस्थापनमा अलमल हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बताए ।

नेता सिंहले कम्युनिस्टहरूको दुईतिहाइको सरकारले जनभावनामा अनुरुप काम गर्न नसक्दा गठबन्धनको सरकार बनेको बताएका छन् ।

Published : Saturday, 2021 September 18, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया