शुक्रबार देशभरि कांग्रेसको वडा अधिवेशन, काठमाडौंसहित २१ जिल्लामा विवाद
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार अधिकांश वडाहरूमा अधिवेशन शुरु हुँदैछ ।
अधिवेशनका लागि नेता र क्रियाशील सदस्यहरू आ–आफ्नो वडामा पुगिसकेका छन् । नेताहरू जिल्ला गएपछि काठमाडौं उपत्यकामा कांग्रेसका नेताहरू पातलो देखिएका छन् ।
शुक्रबार अधिवेशन शुरु हुन केही घण्टा बाँकी रहेका बेला काठमाडौंसहित २१ वटा जिल्लाको क्रियाशील सदस्यको विवाद मिलेको छैन । विवाद समाधान समितिले विवाद मिलाउने प्रयासहरू गरिरहेको छ ।
विशेष गरेर पौडेल समूहले क्रियाशील सदस्यतामा बखेडा गर्दै आएको आरोप छ । सामान्य विषयलाई पनि पौडेल समूहले अबरोध गरेको चर्चा छ ।
क्रियाशील सदस्यबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन हुन्छन् । वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।
समितिले क्रियाशील सदस्यको नामावली प्राप्त भएका ५६ जिल्लामा भने निर्वाचन अधिकृतहरू खटाएको छ ।
शुक्रबार ५६ जिल्लाका ८० प्रतिशत वडाहरूमा अधिवेशन हुनेछ । शुक्रबार अधिवेशन हुन नसक्ने वडामा भदौ २६ गतेभित्र भइसक्नेछ ।
काग्रेसले प्रदेश २ का विवाद रहेका ८ वटा जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाउन सकेको छैन । क्रियाशील सदस्यको नामावली पनि सार्वजनिक भएको छैन ।
मोरङ, काठमाडौं, काभ्रे, रसुवा, सिन्धुपाल्चोक, बाँके, बर्दिया, डोल्पा, सुर्खेत, बाजुरा, डडेल्धुरा, कैलालीको क्रियाशील सदस्यताको विवाद मिलेको छैन ।
नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सैद्धान्तिक सहमति गरेर क्रियाशीलको समाधान भएको भन्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको कार्यान्वयन गर्ने गरी सम्बन्धित जिल्लाको प्राविधिक काममा ढिलाई भएको छ ।
क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते ८ लाख ५२ हजार ७११ जनाको नामावली छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको थियो ।
कांग्रेसले गाउँ, नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने कार्यतालिका छ ।
प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ ।
आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया