गगनसहितका नेताहरू देखेपछि यसरी खुसी भए देउवा, कांग्रेसको शिर झुक्न नदिने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाली कांग्रेसका युवा नेताहरूले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको भेटमा कांग्रेसका केन्द्रीय सदस्य गगन थापासहितका नेताहरूले देउवालाई शुभकामना दिएका हुन् । उनीहरूले सरकार सञ्चालनका विषयमा कसरी जाने भनेर सुझाव दिएको युवा नेता थापाले बताए ।
कोरोना महामारीका बेला यसको रोकथाम, उपचार, खोप दिने विषयमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने सुझाव नेताहरूले दिएका छन् ।
कांग्रेसको नेतृत्वमा रहेको अहिलेको सरकारले केपी ओलीको सरकारले जस्तो गल्ती गर्न नहुने युवा नेताहरूको देउवालाई सुझाव छ ।
पार्टीको १४औँ महाधिवेशन गर्न कोरोना महामारीले चुनौती थपिएको भन्दै युवा नेताहरूले सभापति देउवासँग क्रियाशील सदस्यता वितरणको विवाद समाधान गर्न सुझाव दिएका छन् । उनीहरूले महाधिवेशन तोकिएको समयमा गर्न आग्रह गरेका छन् ।
महाधिवेशन गर्नका लागि कसरी र कुन मोडलमा जाने भन्ने विषयमा पनि विज्ञहरूसँग परामर्श गर्न देउवालाई युवा नेताहरूले सुझाव दिएका छन् ।
सभापति एवम् प्रधानमन्त्री देउवाले भदौमा पार्टीको महाधिवेशन नगर्दा उत्पन्न हुने परिस्थितिबारे निर्वाचन आयोगसँग छलफल गर्ने बताएका छन् ।
‘म सबै साथीहरुसँग सल्लाह गरेरमात्रै निर्णय लिन्छु। केन्द्रीय समितिको बैठक पनि बोलाएको छु। त्योभन्दा अगाडि नै निर्वाचन आयोगसँग पनि तुरुन्तै छलफल गर्छु’, देउवाले भनेको उदृत गर्दै एक नेताले भनेका छन् । देउवाले कोभिड–१९ को महामारीसमेत झन् झन् बढिरहेको अवस्था रहेकाले सबै कुरालाई ध्यान राख्दै अघि बढ्नुपर्ने अवस्था रहेको बताएका थिए ।
भेटमा नेताहरूले पार्टी महाधिवेशन टार्ने उदेश्यले विभिन्न अफवाहहरू फैलिएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् । ‘मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक इतिहास बोकेको पार्टीले बेलामा महाधिवेशन नगर्ने कुरा उपयुक्त होइन’, एक नेताले भने, ‘पार्टीको विधान र संविधानले दिएको सुविधासमेत उपयोग भइसकेको छ । अब महाधिवेशनलाई सुनिश्चित गर्नुहोला ।’
प्रधानमन्त्री देउवालाई भेट्न युवा नेता गगन थापा, सरिता प्रसाई, धनराज गुरुङ, जीवन परियार, कमला पन्त, रामकृष्ण यादव, बद्री पाण्डे, गुरुराज घिमिरे र चन्द्र भण्डारी बालुवाटार गएका थिए । गगन थापासहितका युवा नेताहरूलाई बालुवाटारमा देखेपछि प्रधानमन्त्री देउवा हर्षित देखिएका थिए ।
देउवाले आफ्नो कार्यकालमा कांग्रेसका नेता कार्यकर्ताको शिर झुक्ने गरेर कुनै पनि काम नगर्ने जनाएका थिए ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया