यी हुन् नेपाल टेलिभिजनलाई एमालेकरण गर्ने ओली–बास्कोटाका मान्छे, देउवाले उडाइदिए अध्यक्ष पद

काठमाडौं । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र सञ्चार तथा सूचना सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको ठाडो आदेशमा नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुक्त महेन्द्र विष्टले आफ्नो राजीनामा बुझाएका छन् ।

ओली सरकारद्वारा गरिएको राजनीतिक नियुक्तिहरू छानीछानी प्रधानमन्त्री शेरबहादुर देउवाले खारेज गर्नेदेखि नियुक्ति बदर गर्नेसम्मका निर्णयहरू गरेकै बेला एमाले समर्थक विष्टले नेपाल टेलिभिजनको अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

विष्टले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारस्थित निवासमा भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

विष्टले नेपाल टेलिभिजनलाई एमालेको मुखपत्र बनाउनुका साथै एमालेका कार्यकर्ताहरू भर्ती गर्ने थलो बनाएका थिए । नेपाली कांग्रेस निकटका पत्रकार कर्मचारीलाई विष्टले पेलेर राखेका थिए । विष्टले कांग्रेस समर्थक पत्रकार कर्मचारीलाई जिम्मेवारी विहीन बनाउनेदेखि विभिन्न स्थानमा लगेर थन्काएर राखेका थिए ।

सामाजिक सञ्जालमा विष्टले भनेका भनेका छन्, ‘प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएर नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षको जिम्मेवारीबाट विदा लिएको छु ।’

‘मलाई विश्वास गरेर करिव ३८ महिनाअघि यो जिम्मेवारी प्रदान गर्नु हुने तत्कालीन प्रधानमन्त्री केपी ओली, विभागीय मन्त्री गोकुल बास्कोटा एवम् यो जिम्मेवारीमा रहुञ्जेल मलाई ऊर्जा प्रदान गर्नुहुने सबैमा अन्तर्मनबाट आभार व्यक्त गर्दछु’, विष्टले भनेका छन् ।

एमाले समर्थक विष्टले नेपाल टेलिभिजनलाई व्यापार वृद्धि गरेको दाबी गरेका छन् । विष्टले दाबी गरेअनुसार टेलिभिजनको व्यापार नबढेको पत्रकार कर्मचारीहरूको भनाइ छ ।

सरकारको नीति अनुसार सरकारी विज्ञापनहरू सबै नेपाल टेलिभिजनमा स्वतः आएपछि टेलिभिजनको व्यापार आफै वृद्धि भएको पत्रकार कर्मचारीहरूको भनाइ छ ।

‘संस्थानको व्यापार विस्तार गरी तीन वर्ष अघिको तुलनामा करिव ३३ प्रतिशतले बृद्धि गर्ने जस्ता कार्यहरू भएका छन्’, विष्टले सामाजिक सञ्जालमा भनेका छन् ।

विष्टले नै तत्कालीन समयमा नेकपाका कार्यक्रमहरूलाई लाइभ गरेर ओली र बास्कोटालाई खुसी बनाएका थिए ।

विष्टले नेकपा विभाजन भएपछि ओलीको समर्थनमा नेपाल टेलिभिजनबाट समाचार बजाउनेदेखि ओलीका आमसभाका कार्यक्रमहरू लाइभ गरेर चाकडी गरेका थिए ।

विष्टको चाकडीको नेपाल टेलिभिजनभित्र विरोध गर्नेलाई धम्काउनेदेखि सरुवा गरेर ठेगान लगाउने कार्य भएका थिए ।

Published : Thursday, 2021 August 5, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया