देउवा बने कुलमान घिसिङको प्रशंसक, नियुक्तिमा ओलीका मान्छेले बाटो छेक्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई बोलाएर घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

देउवाको निर्देशनपछि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रक्रिया शुरु भइसकेको छ । प्रधानमन्त्री देउवाको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर पदबाट राजीनामा दिन निर्देशन दिएकी छिन् । तर, शाक्यले पदबाट राजीनामा नदिने जनाएको स्रोतले उल्लेख गरेको छ ।

तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले घिसिङको कार्यकाल समाप्त भएपछि पुनः नियुक्ति गर्न अस्वीकार गरेका थिए । घिसिङको ठाउँमा शाक्यलाई नियुक्त गरेका थिए ।

शाक्यले प्राधिकरण प्रमुखको जिम्मेवारी सम्हालेसँग प्राधिकरणको नाफा घटेको, अनधिकृत रुपमा विद्युत् कटौती हुने क्रम र विद्युत् चुहावट बढेको आरोप छ ।

घिसिङले यसअघि पनि ४ वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए । दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती (लोडसेडिङ) अन्त गरेका घिसिङले प्राधिकरणको व्यवस्थापनमा उल्लेख्य सुधार गरेका छन् ।

शाक्यले तत्काल राजीनामा नदिने बरु सरकारले हटाएमा अदालत जाने चेतावनी दिएको स्रोतले जनाएको छ । ४ वर्षका लागि नियुक्त भएको भन्दै शाक्यले राजीनामा नदिन अडान लिएको स्रोतले जनाएको छ ।

Published : Tuesday, 2021 August 3, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया