मन्त्रिपरिषद् विस्तारमा देउवा–दाहाल–यादवबीच यस्तो बन्यो सहमति

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सरकारको साझा न्यूनतम कार्यक्रम ल्याएर मन्त्रिपरिषद विस्तार गर्ने सहमतिमा पुगेका छन् ।

बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले केही दिनभित्रै साझा न्यूनतम कार्यक्रम ल्याउने सहमति गरेका छन् ।

छलफलबाट पहिले साझा न्यूनतम कार्यक्रम तयार गरी त्यसलाई सार्वजनिक गर्ने र त्यसपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमति भएको छ । तीन शीर्ष नेताहरूका बीच मन्त्रालय बाँडफाँडका विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ । कुन दलले कति मन्त्रालय र कुन–कुन मन्त्रालय लिने विषयमा छलफल भएपछि केही भनिएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् । २१ दिन भइसक्दा समेत सरकार विस्तार हुन नसक्दा विभिन्न खालका आलोचना र टिप्पणी भइरहेका छन् ।

साझा कार्यक्रम बनाउन बनेको कार्यदलले साझा न्यूनतम कार्यक्रमको प्रस्ताव तयार गरिसकेको छ । केही दिनभित्रै अन्तिम रूप दिने तयारी रहेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल समूह भने अनुपस्थित रहेको थियो ।

Published : Monday, 2021 August 2, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया