हड्बडाएनन् गृहमन्त्री खाण, सालिन भएर दिए कुटनीतिक जवाफ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाबारे छानबिन गर्न गठन गरिएको समितिको प्रतिवेदन आएपछि जुनसुकै अडान लिन तयार रहेको बताएका छन् ।

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री खाँणले तुनइबाट खसेर वेपत्ता भएको घटनाबारे जानकारी गराएका थिए ।

‘छानबिन समितिले छानबिन गरिरहेको बेलामा सरकारले छानबिनको प्रतिवेदनलाई पर्खिनुपर्छ’, उनले भने, ‘आम नेपाली नागरिकहरूले आफ्नो विचार व्यक्त गर्ने, ती विचारहरूलाई हामीले गम्भीरतापूर्वक लिनुपर्ने, जनप्रतिनिधिहरूले पनि आफ्नो विचारहरूलाई, आफ्नो सूचनाहरूलाई, आफ्ना धारणाहरूलाई प्रस्तुत गर्ने र त्यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ, लिन्छौं ।’

उनले भने, ‘हामी आफैंले छानबिन समिति बनाइरहेको अवस्थामा छानबिनमा प्रभाव पार्ने गरी हामीले आफ्नो कुनै राय दिन मिलेन ।’

‘छानबिनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरूका लागि जुनसुकै अडान लिन पनि हामी तयार छौं’, गृहमन्त्री खाणले भने, ‘त्यसका लागि आवश्यक पहल गर्ने, निर्णय गर्ने र आफ्नो धारणा सार्वजनिक गर्न र अगाडि बढ्न गृहमन्त्रालय र नेपाल सरकार प्रतिबद्ध रहेको म अवगत गराउन चाहन्छु ।’

साउन १७ गते गृहमन्त्रालयमा बसेको बैठकले मन्त्रालयका सह–सचिव जनार्दन गौतमको नेतृत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक पुरुषोत्तम कँडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको उनले बताएका छन् । समितिले स्थलगत रुपमा सत्यतथ्य छानबिन गरी दश दिनभित्र प्रतिवेदन पेश गर्नेछ ।

साउन १५ गते महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका २ का ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए ।

‘धामी महाकाली नदीको तुइन तर्ने क्रममा नदीमा खसी बेपत्ता भएको भनी नरेन्द्रसिंह धामी समेत तीन जनाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका थिए’, उनले भने, ‘यो टोली नेपालकै मालघाटबाट दार्चुलाको सदरमुकाम खलंगाको लागि प्रस्थान गरेको भन्ने अहिले रिपोर्ट छ ।’

उनले जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्ला अधिकारीलाई उक्त घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्रचार गरेको बताएका छन् ।

‘घटनाका बारेमा सरकार संवेदनशील र गम्भीर छ । धामीको शव भेटिएको छैन, त्यसैले मृत्यु स्वीकार गर्न सक्ने अवस्था रहेन’, खाणले भने, ‘उहाँको खोजीका लागि महाकालीको हाम्रो सुरक्षा निकायले खोजी कार्य गरिरहेको छ । पारि, भारतीय सुरक्षाकर्मीहरूलाई पनि खोज्नका लागि आग्रह गरिएको छ । उहाँहरूले खोजीकार्य गरिरहनुभएको छ ।’

Published : Monday, 2021 August 2, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया