मोहन बस्नेतद्वारा प्वाँख पलाएका ‘ओली–भण्डारी’ कम्युनिस्टको भण्डाफोर, औकातमा बस्न चेतावनी

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका कारण संविधान समाप्त हुन लागेको बताएका छन् ।

भक्तपुरको कौशलटारमा सोमबार आयोजित नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ को अगुवा कार्यर्का भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको उक्साहटमा भण्डारीले संविधान उल्लंघन गरेको बताए । संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले सरकारको नेतृत्व लिएको बताएका छन् ।

‘राष्ट्रपतिजी तपाईको कारण यो देशमा कम्युनिस्ट समाप्त हुने कारण बनेको छ’, उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीजीका कारण कम्युनिस्ट समाप्त हुनेछ ।’ नेता बस्नेलते अ‍ोली र भण्डारीलाई प्वाँख पलाएको भनेर आरोप पनि लगाएका छन् ।

‘कम्युनिस्टले रत्नपार्कमा रेलिङ भत्काउँदा हामीलाई भोट दिनुस्, मदन भण्डारीको हत्यारा पत्ता लगाउँछौँ भने । केपी ओलीजी छानविन कमिटीको संयोजक बन्नुभएको थियो । ओलीजी प्रधानमन्त्री र गृह मन्त्री हुनुभयो’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

‘मदन भण्डारीको हत्यारा को रहेछ ? किन ड्राइभरलाई मारियो ? मदन भण्डारीको हत्यारा पत्ता लाग्छ भनेर होइन ?’, उनले प्रश्न गर्दै भने, ‘आफ्ना पतिको हत्यारालाई पत्ता लगाउनुस् । होइन भने पतिको हत्यासँग पद नसाट्नुस् ।’

उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीजीले केपी ओलीले अह्रयाएको काम गर्दागर्दा यति निकृष्ट काम गर्नुभयो प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गर्ने बेलामा जानजान संविधानको धारा उल्लेख गर्नुभएन । बधाइ पनि दिनुभएन । राष्ट्रपतिजी तपाईले अभिभावकत्व निर्वाह गर्न सक्नु भएन ।’ राष्ट्रपति भण्डारी र ओलीको क्रियाकलाप संविधान र लोकतन्त्र विरोध रहेको उनले बताए ।

‘संविधान धरापमा पार्ने अवस्था आएको थियो । केपी ओलीले जे प्रस्ताव ल्याउँछन् राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही कुरामा समर्थन गरेर अत्यन्तै महत्वपूर्ण विधेयकहरू १५ दिनसम्म राख्ने काम भयो’, उनले भने, ‘राष्ट्रपतिजीले गलत तरिकाले नियुक्ति गर्ने, भ्रष्टाचारलाई संरक्षण गर्ने कार्यमा हस्ताक्षर गर्नुभयो । चितवनका तरुण नेता शिव पौडेललाई मार्नेलाई जेलबाट छुटाइयो छ । हत्यारालाई ओली र राष्ट्रपतिबाट आममाफी दिइएको छ ।’

देउवाले प्रधानमन्त्रीमा विश्वासको मत पाएकोमा बस्नेतले खुसी व्यक्त गरेका छन् । उनले भने, ‘यो जित कांग्रेस र शेरबहादुर देउवाको मात्रै होइन । यो जित प्रजातान्त्रका लागि ज्यान फालेका र बलिदान दिएकाहरू सबैको हो ।’

‘जनताले भोट हालेर जिताएका, दुईतिहाइ बहुमत दिएका प्रचण्ड, माधव नेपालहरू शेरबहादुर देउवा कहाँ हुनुहुन्छ भनेर प्रधानमन्त्री बनिदिनुस्, संविधान र लोकतन्त्र संरक्षण गरिदिनुस्, अधिनायकवादी केपी ओलीलाई रोकिदिनुस् भनेपछि कांग्रेसले मुलुकको जिम्मेवारी लिएको छ’, नेता बस्नेतले भनेका छन् ।

‘प्रचण्ड र माधव नेपाल हाम्रा पार्टीका कार्यकर्ता संरक्षण गरिदिनुस् भन्न आए । कांग्रेसको सरकार बन्नुमा ओलीको पनि साथ छ । उहाँलाई धन्यावाद छ’, उनले भने, ‘जनताले नेपाली कांग्रेस कहाँ छन् भनेर खोज्न थालेका छन् । गाउँ–गाउँबाट कांग्रेस बन्ने भनेर कम्युनिस्टहरू जुरुक्क उठेर आएका छन् ।’

सिन्धुपाल्चोक जिल्लामा क्रियाशील सदस्यता वितरणमा राप्रपाको नाम जोडेर आएका विवादहरूको बस्नेतले विरोध गरेका छन् । उनले राप्रपाका नाममा कीर्ते काण्ड गर्नेहरूलाई नछाड्ने चेतावनी दिएका छन् ।

‘हाम्रो पार्टीमा हजारौँ कार्यकर्ता प्रवेश गरेका छन् । जुन घरमा पाहुना आउँदैनन् त्यो घरमा लक्षिन पनि लाग्दैन’, बस्नेलते भने, ‘नयाँ क्रियाशील सदस्याता रोक्ने काम भएको छ । राप्रपाको कारणले भनेर सिन्धुपाल्चोकको सदस्यता रोकियो भनिएको छ । राप्रपाको नामबाट कांग्रेसका केही साथीहरूले कीर्ते काम गरेका छन् । कीर्तेमा कारबाही हुनेछ । काठमाडौंमा बस्ने मगन्तेलाई क्रियाशील सदस्यता रोक्ने अधिकार छैन ।’

कांग्रेसका केन्द्रीय सदस्य विष्णुबिक्रम थापाले राप्रपाले सिन्धुपाल्चोकको क्रियाशील सदस्यता वितरणमा उजुरबाजुर नगरेको बताए । उनले राप्रपाका नाममा हुने हर्कतहरूलाई समय आएपछि उचित जवाफ दिने बताएका छन् ।

कांग्रेस नेता बस्नेतले गाउँमा कांग्रेसका कार्यकर्तालाई दुःख दिएमा ती कम्युनिस्टलाई लखेटेर गाउँ निकाला गर्ने चेतावनी दिएका छन् । उनले कम्युनिस्टलाई सुध्रिन पनि आग्रह गरेका छन् ।

Published : Monday, 2021 July 19, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया