युवा संघका केन्द्रीय सदस्यसहित सिन्धुपाल्चोकका ५ सय युवा कांग्रेसमा प्रवेश, बस्नेतद्वारा स्वागत

भक्तपुर । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक जिल्लाका इञ्चार्ज सुरेनबिक्रम योञ्जन नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार भक्तपुर जिल्लाको कौशलटारमा आयोजित नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य योञ्जनसहित करीव ५ सय जना कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले योञ्जनसहितका नवप्रवशीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेसमा प्रवेश गरेका योञ्जनलाई कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले लोकातान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा मनोनीत पनि गरेका छन् ।

योञ्जनसँगै सिन्धुपाल्चोकका झण्डै ५ सय एमाले, माओवादी केन्द्र र राप्रपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसका खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले जनतामा कांग्रेसप्रति विश्वास जागेर आएको बताए । उनले जनताको विश्वासलाई कांग्रेसले खेर जान नदिने बताएका छन् ।

जिल्लाको विकास कसरी गर्नुपर्छ आफूलाई राम्रोसँग जानकारी रहेको भन्दै बस्नेतले सत्तामा रहेका कम्युनिस्ट नेताहरूले विकास गर्न सिन्को पनि भाँच्न नसकेको बताए ।

नेता बस्नेतले सिन्धुपाल्चोकको विकासको जिम्मेवारी कांग्रेस र आफूले लिने बताए । उनले जुगल गाउँपालिकाका केही स्थानमा बिजुली नपुगेको भन्दै निर्वाचन अगाडि बिजुली लैजाने आश्वासन दिए ।

अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक जिल्लाबाट समेत कांग्रेसका कार्यकर्ताहरू आएका थिए ।

Published : Monday, 2021 July 19, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया