माओवादीका लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश, खतिवडाले दिए ओलीलाई मन पर्ने बालकोटवाला सुझाव

ओखलढुंगा । ओखलढुंगा जिल्लामा माओवादी केन्द्रका २२ जना स्थानीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

लिखु गाउँपालिकामा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले माओवादी केन्द्रका ओखलढुंगा जिल्ला कमिटी सचिवालय सदस्य पूर्णबहादुर खड्का ‘पुजन’सहितका नेताहरू कांग्रेसमा प्रवेश गराएका हुन् ।

कांग्रेस प्रवेश गर्ने पूर्णबहादुर खड्का ‘पुजन’ वडाध्यक्षका प्रत्यासी पनि हुन् । पूर्व गाविस उपाध्यक्ष जयप्रसाद सुवेदी पनि कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा लिखु गाउँपालिका– २ र ५ नम्बर वडाका माओवादी केन्द्रका २२ जना नेताहरू छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता खतिवडाले कम्युनिस्टको झुठको राजनीति बुझेर लोकतान्त्रिक युद्धमा होमिन आएका नवप्रवेशीहरूलाई बधाइ दिएका छन् ।

नेता खतिवडाले लोकतान्त्रिक आन्दोलनमा आएका सबैलाई कांग्रेसले स्थान दिने बताए । उनले नवप्रवेशीहरूलाई कांग्रेसको संगठन निर्माणमा लाग्न तथा न्याय र सत्यको पक्षमा लाग्न सबैसँग आग्रह गरेका छन् ।

जनताले दुईतिहाइको बहुमत दिँदा पनि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टी र सरकार चलाउन नसकेर बालकोटमा गएर बस्नु परेको बताए । ‘दुईतिहाईको सरकारको अवस्था हामीले देख्यौं । घर–घरमा पाइपबाट ग्यास, पानीजहाज, रेल जस्ता मीठा सपनाहरू बाँडियो’, उनले भने, ‘तीन वर्षमा कुनै काम पूरा भएनन् । त्यसैले आज साथीहरू आज यसरी पार्टी परिवर्तन गर्न बध्या बनाइयो ।’

युवा नेता खतिवडाले भने, ‘नाम वामपन्थी, देवता रामपन्थी र काम दामपन्थी जे काम गर्दा नि खानु नै पर्ने रहेछ । सहि मान्छेलाई उचित पद नदिँदा आज लोकतन्त्र नै खतरामा परेको छ ।’

नेता खतिवडाले वडाको सदस्यमा चुनाव हारेकालाई राष्ट्रिय सभामा ल्याएर राम्रा नेताहरूलाई कम्युनिस्टले अन्याय गरेको बताए । मेयरको टिकट पाएर पराजित भएकालाई मन्त्री बनाएको भन्दै उनले कम्युनिस्टले देशलाई तनावपूर्ण अवस्थामा लगेको बताएका छन् ।

कम्युनिस्ट सरकारको ३ वर्षको कार्यकालमा देशलाई अन्धकारमा लैजाने काम भएको भन्दै उनले केपी ओलीलाई प्रधानमन्त्री र विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउने बाहेक अरु केही काम नगरेको खतिवडाले लगाए ।

‘दुईतिहाईको सरकार हुँदा हामीले एकदिन चक्काजाम गरेनौँ, बन्द हडताल गरेनौँ, ब्रिफकेश खोस्न गएनौँ, सधैँ सालिन प्रतिपक्षको भूमिकामा सहयोग गरिनै रह्यौं’, खतिवडाले भने, ‘कम्युनिस्टले धन, बल र छलले शासन गर्दा आज यो गति भएको छ ।’

नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवारले नवप्रदेशीहरूलाई उचित जिम्मेवरी दिने बताए । उनले कांग्रेसमा सबैलाई स्थान रहेको भन्दै लोकतान्त्रिक संस्कार पाउने अधिकार सबैको रहेको बताए ।

नवप्रदेशी पूर्णबहादुर खड्का ‘पुजन’ले लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्ने विश्वास आफूले लिएको बताए । उनले भने, ‘अहिलेको कम्युनिस्ट पार्टीलाई देख्दा म कतै नाङ्गै त छैन भन्ने अनुभूति भएको छ ।’

‘कम्युनिस्टहरू सर्वहारा वर्गको नाम जप्ने अन्ततः साम्रज्यवादको डण्डी हल्लाउने प्रवृत्तिले गर्दा कम्युनिस्टसँग दिक्क लागेको छ’, नवप्रवेशी खड्काले भनेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति तेजेन्द्र खनाल, सचिवद्वय नवराज केसी, रुद्र अधिकारी, नेता अशोक कार्की, अजय लुइँटेल, होमबहादुर बिकलगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2021 July 14, 11:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया