देउवाले शपथ नलिँदै शीतल निवासको ‘हर्कत’ले सीमा नाघ्यो

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ति जारी गर्दा गम्भीर त्रुटी गरेको छ ।

राष्ट्रपति भण्डारीले राजनीतिक पूर्वाग्रही भएर संविधानको धारा र मिति नै उल्लेख नगरेर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै संविधानविदहरूले आलोचना गरेका छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा मंगलबार जारी विज्ञप्तिमा मिति नै उल्लेख छैन भने संविधानको धारा पनि उल्लेख गरिएको छैन । देउवाले प्रधानमन्त्री पदमो शपथ नलिँदै नेपाली कांग्रेस र देउवालाई हेप्ने गरेर राष्ट्रपति कार्यालय शीतल निवासले लापरबाहीपूर्ण तरिकाले मिति नै नराखेर विज्ञप्ति जारी गरेपछि कांग्रेसका नेता कार्यकर्ता रिसाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

तर सो कार्यालयद्वारा जारी विज्ञप्तीमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको कुनै पनि धारा उल्लेख गरिएको छैन ।

सर्वाेच्च अदालतले सोमबार संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नू वा गराउनु भन्ने परमादेश दिएको भए पनि राष्ट्रपति कार्यालयले संविधानको कुनै धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको हो ।

राष्ट्रपति भण्डारीले सर्वोच्च अदालत, संवैधानिक इजलासको असार २८ गतेको फैसला बमोजिम प्रतिनिधि सभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयले बेलाबेला विज्ञप्ति जारी गर्दा होस् वा पत्रहरू सार्वजनिक गर्दा होस् त्रुटीहरू गर्ने गरेको छ । राष्ट्रपति कार्यालय जस्तो सम्मानित स्थानबाट लापरबाहीपूर्ण कार्य गर्ने कर्मचारी तथा सचिवालयका व्यक्तिलाई कारबाहीको माग उठेको छ ।

हुन त केही महिना अगाडि राष्ट्रपति भण्डारीले नै सार्वजनिक कार्यक्रममा देउवाको भनाइ ‘मैले बुझेन, समाचार हेरेर थाहा पाउँला’ भनेपछि आलोचना भएको थियो ।

सर्वोच्च अदालतले एमालेका अध्यक्ष समेत रहेका खड्गप्रसाद ओलीको प्रधानमन्त्री पद उडाइदिएपछि राष्ट्रपति भण्डारीलाई मन परेको छैन ।

भण्डारीले नै संविधानको संरक्षण गर्नेभन्दा पनि ओलीका असंवैधानिक क्रियाकलापलाई साथ दिँदा मुलुक संविधानभन्दा बाहिर गएको थियो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतले तोकेर परमादेश जारी गरेर फैसला गरेपछि तनाब भएको थियो ।

भण्डारी र ओली एमालेका नेता हुन् । भण्डारी एमालेबाटै राजनीति गरेर राष्ट्रपति बनेकी हुन् । एमालेको ओली गुटभन्दा माथि उठ्न नसकेको भन्दै भण्डारीको आलोचना हुँदै आएको छ ।

Published : Tuesday, 2021 July 13, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया