देउवासँग ओलीले यसरी सिक्नुपर्छ राजनीतिक संस्कार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसालाको स्वागत गर्दै खुसी व्यक्त गरेका छन् ।

सोमबार देउवाले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु ।’

उनले भने, ‘यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छभने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ ।’

‘लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानून व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरू, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवम् स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गर्दछु’, सभापति देउवाले भनेका छन् ।

उनले भने, ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ ।’

‘कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु’, सभापति देउवाले भनेका छन् ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा दोस्रो पटक विघटन गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गरिदिएको थियो । कांग्रेससहितका दलहरूले माग गरे बमोजिम सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला गर्दै कडा आदेश दिएको छ ।

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै देउवाले देखाएको राजनीतिक संस्कारलाई ओलीले पनि सिक्नुपर्ने चर्चा सामाजिक सञ्जालमा उठेको छ ।

ओलीले फैसलाबारे केही बोलेका छैनन् । तर, आफ्ना समर्थक र भ्रातृ संगठनहरूलाई सर्वोच्च अदालतविरुद्ध प्रदर्शन गर्न सडकमा उतारेका छन् ।

Published : Monday, 2021 July 12, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया