वंशजको नाताले कांग्रेसमा शुद्धीकरण हुँदैन, म्याच्युड नेता देउवा–पौडेलनै होः नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले ‘तीन पुत्र’को भेट मुलुक, संविधान, प्रजातन्त्र र कांग्रेसलाई बलियो बनाउने पक्षमा हुनुपर्ने बताएका छन् ।

शेरबहादुर देउवा वा रामचन्द्र पौडेललाई हराउँने भनेर मात्रै तीन पुत्रको भेटघाट र छलफल भयो भने त्यो उचित नहुने उनले बताए । एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा नेता थकालीले बाबुको बिरासत थाम्ने बहानामा तीन पुत्रको भेटघाट भएको हो भने त्यसले उनीहरूलाई ब्याकफायर गर्ने बताए । यद्यपि तीन नेता पुत्रहरूको भेटघाटलाई सकारत्मक भनेका छन् ।

‘आज तीन जना नेता पुत्र विमलेन्द्र निधीजी, शशांक कोइरालाजी र हाम्रो प्रकाशमान सिंहजीको भेटघाट भएको देखिन्छ’, उनले भने, ‘एउटा पाटोबाट हेर्दा यसलाई सकारात्मक रुपमा लिन सकिन्छ ।’

थकालीले भने, ‘यदि उहाँहरूले मुलुक, संविधान, प्रजातन्त्र र कांग्रेसका लागि भेटघाट गर्नुभएको हो भने ठीक छ । अन्यथा राम्रो होइन ।’
‘मलाई शशांक कोइराला निकट भन्छन् । उहाँ निकै भदाद्मी हुनुहुन्छ । अरुलाई बिगार्नै नचाहने’, उनले भनेका छन् ।

तीन पुत्र नेताहरूतर्फ सकेत गर्दै कांग्रेस नेता थकालीले भनेका छन्, ‘तपाईहरू कांग्रेस, देश, प्रजातन्त्र, संविधान बनाउनलाई लाग्नुभएको हो ? नेपाली कांग्रेसका महानायकहरूमध्ये यी तीन वटैभित्र पर्छन् । महेन्द्रनारायण निधीको कन्ट्रयुबिशन पनि चानचुन छैन ।’

‘यसका लागि तपाईहरूको भेटघाट भइरहेको छ कि ? वा यो कांग्रेस हाम्रो बाउहरूले बनाएको हो, हामीले नै निर्धारण गर्नु परेको भनेर तपाईहरूले त्यो आँकलनको भेटघाट हो ?’, उनले प्रश्न गर्दै भने, ‘यी तीन वटा नेतामध्ये म सबैभन्दा नजिक शशांक कोइरालासँग छु । त्यसपछि प्रकाशमान सिंहजीसँग छु । त्यसपछि विमलेन्द्र निधीजीसँग मेरो सौहार्दपूर्ण रिलेशन छ ।’

नेता थकालीले भने, ‘यदि तपाईहरूले हाम्रा बाउहरूले यो गरेका थिए । यो लिगेसीमा हामी मिलेर लड्यौँ भने जित्छौं भन्ने आडम्बर बोकेको हो भने त्यो गलत हो । यसले तपाईहरूलाई ब्याकफायर गर्छ ।’

‘हामी तीन नेता मिलेपछि यो कांग्रेसमा जे गरे पनि हुन्छ भन्ने मान्यताले गरेको हो भने म जस्तो कलिलो उमेरदेखि कांग्रेसमा लागेको मान्छेले मेरो स्वाभीमानमा चोट त लागेन ? भनेर सोँच्न बाध्य हुनेछ’, उनले भनेका छन् ।

कोइराला, सिंह र निधीबीच वार्ता भएका फोटोहरू सार्वजनिक भएका घटनाप्रति संकेत गर्दै नेता थकालीले भने, ‘फोटोग्राफी सेशन देखेको छु । हामी तीन जना मिलेर कुरा मिलाऔँ, हामी शेरबहादुरजी वा रामचन्द्रजीलाई बाहिर राख्न सक्ने स्थिति र क्षमता राख्छौँ भन्ने कारणले मात्रै गरेको हो भने त्यसले कांग्रेसको हित गर्दैन । लोकतन्त्रलाई हित गर्दैन ।’

उनले भने, ‘समग्रमा उहाँहरूको यो सोँचले कार्यकर्ता नराम्रो हुनेछ । यी तीन जनाले आफ्नो बाबुको बपौतीको सम्पत्ति खाने भन्ने मानसिकता विकसित भयो भने चुनावमा पनि उहाँहरूको पार लाग्दैन ।’

‘उहाँहरूको भेटघाट पहिलादेखि हुनु पर्ने थियो । भेटघाट आफैमा सकारात्मक हो’, थकालीले भने, ‘पत्रपत्रिकामा जुन एउटा फोटो सेशन भएको छ । त्योमध्येमा कांग्रेसको दीग्गज, कांग्रेसको विद्वान सिनियर नेताहरू बसेर छलफल गरेको त देखिदैन ।’

‘उहाँहरू तीन जना सुटुक्क बसेर हामीमध्येबाट मलाई सभापतिमा छोड्नुस्, मैले हराउँछु शेरबहादुर देउवा वा रामचन्द्रजीलाई अथवा रोमीलाई भनेर ती पदको लागि तीन जना एक ठाउँमा आएको हो भने नेपाली कांग्रेसको स्थापनाको मौलिक सिद्धान्त विपरित हो’, कांग्रेस नेता थकालीले भनेका छन् ।

उनले भने, ‘वंशजको नाताले शासन प्रणाली शुद्धीकरण हुँदैन । त्यसले विकास पनि गर्दैन । यद्यपि मैले उहाँहरूको क्वालिफिकेशनमा प्रश्न लगाएको होइन ।’

‘म ३४ सालदेखि नेविसंघमा अनवरत रुपमा लागेको हुँ । अनगिन्ती मेरा कमीकमजोरी होलान् । निष्ठा, इमान्दारिता र भ्रष्टाचारको सवालमा कहिल्यै पनि औँला ठड्याउन नसकेको म केन्द्रीय सदस्य लड्ने योग्यता पुग्यो कि पुगेन ? भनेर सोँचेर बसिरहेको बेलामा हिजो मैले नेविसंघमा मद्दत गरेका, तरुण दलमा मद्दत गरेकाहरू आज सभापतिको दाबी गर्ने समेत भइसके’, उनले भनेका छन् ।

‘तीन जनाको भेटघाट महत्वपूर्ण छ । त्यो भेटघाट हामीबाट सभापति हुनुपर्छ भन्नेभन्दा पनि मुलुक, संविधान, प्रजातन्त्र र कांग्रेस बचाउनका लागि हो भने तीन नेताको भेटघाटले कांग्रेसलाई छलाङमार्छ’, उनले भने, ‘कांग्रेस रह्यो भने यो देश रहने हो ।’

उनले भने, ‘कांग्रेस कमजोर भएको दिनमा कम्युनिस्टको दुईतिहाइ भएको अवस्थामा पनि उनीहरूको राष्ट्रवाद देखिएको छ । हाम्रो राष्ट्रवाद भारतलाई गाली गर्ने होइन । सबै देशसँग मित्रवत सम्बन्ध राख्ने हो । भारतसँग हाम्रो विविध सम्बन्ध छ ।’

‘कांग्रेसलाई हाम्रो जेनरेशन, शेरबहादुर देउवा र रामचन्द्र पौडेल दाईहरूको जेनरेशनलाई सुध्रिने अन्तिम मौका हो’, उनले भनेका छन् ।

‘संसद पुनर्स्थापना भएर शेरबहादुर दाई प्रधानमन्त्री हुनुभयो भने उहाँले राम्रो काम गर्नै पर्दैन । विगतमा भएका नराम्रो कामहरूको करेक्सेन गरिदिए मात्रै पुग्छ’, नेता थकालीले भने, ‘त्यसले कांग्रेसलाई कसैले चुनावमा हराउन सक्दैन ।’

‘मलाई लाग्छ शेरबहादुरजी र रामचन्द्रजीले आजभन्दा बीस वर्ष अगाडि किशुनजी र गिरिजाप्रसाद कोइरालाबाट नेतृत्व लिनका लागि उहाँहरूले दोस्रो पुस्तामा हस्तान्तरण गर्नु पर्‍यो भनेर आजभन्दा करीव २० वर्ष अगाडि भन्नुभयो’, थकालीले भने, ‘उहाँहरूको अहिलेको उमेरलाई २० वर्ष घटाउँदा उहाँहरूको उमेर ५५/५६ वर्ष भएको रहेछ । उहाँहरूले जे भन्नुभयो आज ती गलाको फाँसो हुँदैछ ।’

उनले भने, ‘यो विषयमा मेरो तर्क बेग्लै छ । नयाँ नेतृत्व, नयाँ विचार उमेरले निर्धारण गर्दैन । नेतृत्व लिनेको सोँचले गर्छ ।’

‘मैले हिजोसम्म शेरबहादुरजी र रामचन्द्रजीलाई स–सम्मान एउटा स्थान र एउटा संरक्षण गरेर नयाँ पिँडीको विचार, जोश, उमंग, इनर्जीले त्यसको खोजी गर्थें । आज मैले देशको संकट देखिरहेको छु, यसको अन्यथा ब्याख्या नहोस्’, उनले भनेका छन् ।

‘विश्वेश्वरप्रसाद कोइरालासँग संगत गरेको यी दुइटा हाम्रा पाका नेताहरू छन्’, उनले भने, ‘गणेशामन सिंह, किशुनजी र गिरिजाप्रसाद कोइरालाको टावरिङ फिगर थियो ।’

‘मैले गिरिजाबाबुको परराष्ट्र हेर्ने काम पनि गरेँ । सुशील दाईको पनि हेर्ने काम गरेँ । त्यो अनुभव प्राप्त गरेको म्याच्युड नेता भनेको शेरबहादुर दाई र रामचन्द्र दाई नै हो’, नेता थकालीले भने, ‘शेरबहादुर दाईको पनि अनगिन्ती कमजोरी शासन, प्रशासन नेतृत्वमा देखिएकै हो । रामचन्द्रजीको के देख्छु भने उहाँ सानो घेरामा बस्छ भन्ने आरोप छ ।’

Published : Friday, 2021 July 2, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया