एमालेभित्र चक्मा दिने नाटकीय सहमति, नेपाल समूहका लागि ओलीको यस्तो निर्णय

काठमाडौं, १८ असार । एमालेले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा नेताहरूलाई पदीय हैसियत तोकेरै निमन्त्रणा गरेको छ ।

यसअघि केन्द्रीय सदस्यको हैसियतमा मात्रै बोलाइएको थियो । वरिष्ठ नेता माधव नेपाल समूहलाई पद तोकेर निमन्त्रणा नगरेको भन्दै बैठक बहिस्कार गर्ने जनाएका थिए । नयाँ विकसित घटनापछि नेपाल समूह बैठकमा सहभागी हुन्छ वा हुँदैन केही भनिएको छैन ।

सामूहिक एसएमएस मात्र गरेर बैठकमा निमन्त्रणा गर्ने गरिएको थियो । नेपाल समूहका नेताहरूले आफूहरूलाई पठाएको एसएमएसमा पदीय हैसियत नखुलाएको भनेर असन्तुष्टि व्यक्त गरेपछि बिहीबार राति नौ बजे पत्र बनाएर पठाइएको छ ।

पार्टी केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङका अनुसार पार्टीका स्थायी समिती सदस्यसम्मलाई पदीय हैसियत खुलाएर पत्र पठाइएको छ । नेताहरूलाई पठाइएको पत्रमा नाम र पद उल्लेख गरिएको छ ।

बिहीबार रातिको कार्यदलको बैठक र राति प्रधानमन्त्री केपी ओली र नेता माधव नेपालबीच टेलिफोन संवाद भएपछि शुक्रबारको बैठकमा नवौं महाधिवेशनबाट विजयी भएका सबै नेता बैठकमा उपस्थित हुने अपेक्षा संस्थापन पक्षको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

२०७५ जेठ २ गते पछाडि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । जेठ ३ गते माओवादीसँग एकता भएपछि एमालेका केन्द्रीय सदस्यहरू नेकपाका केन्द्रीय सदस्यमा रुपान्तरण भएका थिए ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले माओवादी एकता टुटाइदिएपछि केन्द्रीय कमिटीलाई फागुन २८ गते दशौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको थियो ।

असार १५ गतेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई खारेज गरेर पुन केन्द्रीय कमिटीमा नै फर्कने निर्णय गरेको थियो । नवौं महाधिवेशनको केन्द्रीय कमिटीको यो १३ औं बैठक हो ।

Published : Friday, 2021 July 2, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया