ओलीमाथि विपक्षी गठबन्धनको धमाका, बालुवाटारमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले देश गम्भीर संकटतर्फ धकेलिएको बताएको छ ।

कांग्रेस सभपाति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरिएको बताएका छन् ।

नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ देश नै गम्भीर संकटतर्फ धकेलिएको मंगलबार संयुक्त विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।

उनीहरूले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको बताएका छन् ।

विज्ञप्तिमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्ष रुपमा काम नगरी कानून र न्यायसँग असंगत व्यवहार प्रदर्शन गर्नु चिन्ताको विषय भनिएको छ ।

‘यस्तो कार्यले अन्ततः लोकतान्त्रिक अभ्यासमा नै आँच पुर्‍याउँछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गलत गतिविधिहरू अविलम्ब बन्द गरिनुपर्छ ।’

‘देश र जनताको सर्वोपरी हित, संविधान, लोकतन्त्र र कानुनी शासनको संरक्षण र सम्बर्द्धनको लागि आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न हामी सम्पूर्ण जिम्मेवार राजनीतिक दल, नेता, कार्यकर्ता तथा विभिन्न तह, वर्ग, समुदाय र पेशाका जनमुदायमा हार्दिक आव्हान गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीले स्वेच्छाचारी रुपमा प्रतिनिधि सभाको दुई/दुई पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंग लगायत राज्यका निकायहरूको दुरुपयोग गरेको उनीहरूको भनाइ छ ।

‘भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कूटनीतिमा विचलन र असन्तुलन तथा कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न असक्षमता एवम् बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद् व्यवस्थापनमा पूर्वतयारीको अभाव जस्ता कार्यसमेतले सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपन देखिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

Published : Tuesday, 2021 June 22, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया